पर्सा पोस्ट , समाचार , बिरगंज । सानो पाइला संस्था र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको संयुक्त आयोजनामा तथा नवदीप एकेडेमीको सहयोगमा “सुरक्षित स्पर्श” र “असुरक्षित स्पर्श” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम वीरगञ्ज महानगरपालिका–१५, भिस्वास्थित नवदीप एकेडेमीमा लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीका अध्यक्ष एवं नवदीप एकेडेमीकी संचालिका सुशिला साहको अध्यक्षतामा सम्पन्न भयो। प्रशिक्षणमा कक्षा ३, ४ र ५ मा अध्ययनरत १२७ जना विद्यार्थीहरूले सहभागिता जनाए।

विद्यार्थीलाई आत्म–सुरक्षाबारे जानकारी
तालिममा विद्यार्थीहरूलाई सुरक्षित (Good) स्पर्श र असुरक्षित (Bad) स्पर्शबीचको स्पष्ट भिन्नता, आत्म–सुरक्षाका उपाय, अपरीचित व्यक्तिबाट हुने सम्भावित जोखिम र आवश्यक प्रतिकारका तरिका सिकाइयो। प्रशिक्षकहरूले सजिलो भाषामा उदाहरणसहित असुरक्षित स्पर्शबाट जोगिने तरिका, आत्मविश्वासपूर्वक ‘ना’ भन्न सक्ने कला, र समस्या आएमा विश्वासिला व्यक्तिसँग तुरुन्त जानकारी गराउने बानीको महत्वबारे प्रशिक्षण दिएका थिए।
प्रमुख प्रशिक्षक र उपस्थितिहरू
सानो पाइला संस्थाबाट सुस्मिता चालिसे र काजल झा प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा रेखा कुर्मी, सानो पाइला संस्था कार्यक्रम संयोजक राजकुमार तामाङ लगायतको उपस्थिति थियो।
प्रमुख अतिथिको भनाइ
लायन्सका आजीवन सदस्य लायन राधेश्याम खेतानले बालबालिकालाई प्रारम्भिक उमेरमै यस्ता विषयमा सचेत गराउन सके भविष्यमा असुरक्षित परिस्थितिबाट जोगिन सक्ने उल्लेख गर्दै विद्यालय तहमै निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
निरन्तरताको माग
कार्यक्रममा नवदीप एकेडेमीका शिक्षक–शिक्षिका नेहा अग्रवाल, आनन्द तिवारी, उत्तम कुश्वाहा, सरिता सिंह, देवन्ती साह, कमला भण्डारीलगायतको उपस्थिति थियो। सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले यस प्रकारका सचेतनामूलक तालिमहरू विद्यालय तहमा निरन्तरता दिन आग्रह गरेका छन्।