पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज ।
मुस्लिम समुदायको आगामी दाहा (मोहरम/ताजिया) पर्वलाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सम्पन्न बैठकमा सुरक्षा, व्यवस्थापन, रुट निर्धारण तथा सामाजिक सहिष्णुताको विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा हिन्दु धार्मिक अगुवा रञ्जीत शाहले धार्मिक कार्यक्रम सञ्चालनमा संस्थागत जिम्मेवारी र जवाफदेहिताको विषय उठाउँदै कडा अडान प्रस्तुत गर्नुभयो। उहाँले यसअघि हनुमान जयन्तीका अवसरमा हिन्दु समुदायले जिल्ला प्रशासन कार्यालयबाट आधिकारिक अनुमति लिएर कार्यक्रम सञ्चालन गरेको तथा सम्पूर्ण सुरक्षा र व्यवस्थापनको जिम्मेवारी आयोजक पक्षले नै वहन गरेको उदाहरण प्रस्तुत गर्नुभयो।
उक्त नजिरलाई स्मरण गराउँदै शाहले मोहरम पर्वका लागि पनि आयोजक संस्थाको आधिकारिक पत्र अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने माग गर्नुभयो। साथै, पर्वका क्रममा हुने सम्पूर्ण र्याली, झाँकी, सुरक्षा तथा अनुशासनको जिम्मेवारी आयोजक संस्थाले स्पष्ट रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।
धार्मिक अगुवा शाहको मागलाई गम्भीर रूपमा लिँदै प्रमुख जिल्ला अधिकारी भोला दाहालले मुस्लिम समुदायका प्रतिनिधिहरूलाई बिहीबारभित्र आयोजक संस्थाको आधिकारिक पत्र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन निर्देशन दिनुभयो। उहाँले पत्र प्राप्त भएपछि तत्काल जिल्ला सुरक्षा समितिको बैठक बस्ने र सोही आधारमा मोहरम पर्वको अन्तिम रुट तथा सुरक्षा योजना तय गरिने जानकारी दिनुभयो।
पर्वलाई मर्यादित बनाउन ९ बुँदे आचारसंहिता जारी
बैठकले मोहरम पर्वलाई सभ्य, अनुशासित र सामाजिक सद्भाव कायम रहने वातावरणमा सम्पन्न गर्न ९ बुँदे आचारसंहिता समेत जारी गरेको छ। जारी आचारसंहिताअनुसार स्थानीय प्रशासनले तोकेको रुट, मिति र समय तालिका अनुसार मात्र र्याली तथा शोभायात्रा सञ्चालन गर्नुपर्नेछ।
र्यालीका क्रममा कुनै पनि प्रकारका घरेलु वा अन्य हातहतियार प्रदर्शन गर्न नपाइने तथा समाजमा अशान्ति फैलाउने खालका उच्च ध्वनि उत्पन्न गर्ने उपकरण प्रयोगमा पूर्ण रोक लगाइएको छ। साथै, अन्य धार्मिक समुदायको भावना र आस्थामा असर पुग्ने गतिविधि नगर्न सबै पक्षलाई सचेत गराइएको छ।
आचारसंहितामा प्रत्येक र्याली वा झाँकीको नेतृत्व गर्ने व्यक्तिले आफ्नो नाम, सम्पर्क नम्बर र पूर्ण विवरण कम्तीमा एक दिन अगावै प्रशासनमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। सामाजिक तथा धार्मिक सहिष्णुतामा असर पुग्ने खालका विवादास्पद झण्डा, छाप वा टिसर्ट प्रयोग गर्न निषेध गरिएको छ भने सामाजिक सञ्जालमार्फत भ्रम, उत्तेजना वा वैमनस्य फैलाउने सामग्री शेयर नगर्न पनि आग्रह गरिएको छ।
सुरक्षा समन्वयका लागि दुवै समुदायबाट संयोजक चयन
मोहरम पर्व अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन तथा कुनै पनि समस्या तत्काल समाधान गर्न दुवै समुदायका तर्फबाट संयोजकहरू चयन गरिएको छ। निर्णयअनुसार मुस्लिम समुदायका तर्फबाट महबुब अलि (शेरु आलम) र हिन्दु समुदायका तर्फबाट रञ्जीत शाहले सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी पाउनुभएको छ।
बैठकमा हिन्दु पत्रकार सङ्घका अध्यक्ष राजन रौनियार, धार्मिक अगुवा मौलाना अलि अक्बर मदनी, कृष्णकुमार साह, ओमबाबु यादव, एस्मुहीन अन्सारी, अनवर हुसेन, शाशिकपुर मियाँलगायत नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकको अन्त्यमा उपस्थित सम्पूर्ण पक्षले वीरगञ्जको धार्मिक तथा सामाजिक सहिष्णुतालाई अक्षुण्ण राख्दै मोहरम पर्वलाई शान्तिपूर्ण, सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।