पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाको २० औं नगरसभाको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । टाउन हल, वीरगञ्जमा आयोजित नगरसभामा कार्यवाहक प्रमुख इम्तियाज आलमले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेट तथा विकास प्राथमिकताबारे जानकारी गराएका हुन् ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा “स्मार्ट, समृद्ध, सुरक्षित र अवसरयुक्त महानगर” निर्माणलाई मुख्य लक्ष्यका रूपमा अघि सारिएको छ । महानगरले पूर्वाधार विकास, सरसफाइ, सडक तथा यातायात व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

नीति तथा कार्यक्रममा महानगरभित्र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन, फोहोरमैला व्यवस्थापन प्रणालीको आधुनिकीकरण, हरित पूर्वाधार विकास, स्मार्ट ट्राफिक प्रणाली, सीसीटीभी निगरानी विस्तार तथा डिजिटल सूचना प्रणाली लागू गर्ने योजना समेटिएको छ । साथै महानगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न “उज्यालो वीरगञ्ज अभियान” लाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

स्वास्थ्यतर्फ महानगर नमुना अस्पतालको स्तरोन्नति, विभिन्न वडामा हेल्थ पोस्ट तथा बर्थिङ सेन्टर सञ्चालन, विपद् व्यवस्थापन कोष सुदृढीकरण तथा महामारी नियन्त्रण कार्यक्रमलाई प्राथमिकता दिइएको छ । वातावरण संरक्षण अन्तर्गत हरित करिडोर निर्माण, वृक्षारोपण अभियान, ढल तथा फोहोरपानी प्रशोधन केन्द्र सञ्चालन तथा सिरसिया नदीको प्रदूषण नियन्त्रणका कार्यक्रम अघि सारिएका छन् ।
कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उन्नत बीउ वितरण, पशु उपचार सेवा विस्तार, बजार अनुगमन तथा खाद्य स्वच्छता कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । त्यस्तै, बेरोजगार युवालाई सीपमूलक तालिम, वैदेशिक रोजगारीसम्बन्धी सूचना प्रवाह तथा सहकारी क्षेत्रको सुदृढीकरणमा जोड दिइएको छ ।
शिक्षातर्फ सामुदायिक विद्यालयमा डिजिटल सिकाइ सामग्री, स्मार्ट बोर्ड, प्रयोगशाला निर्माण, अतिरिक्त कक्षा सञ्चालन तथा “Green and Clean School” कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ ।
नगरसभामा आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा राजस्व र व्ययको अनुमानसम्बन्धी प्रस्तावहरू समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नगरसभा सदस्य, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।