पर्सा पोस्ट , असार ०९ गते , बारा ।
१२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बारा जिल्लाको परवानीपुर गाउँपालिकामा विशेष योग कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, अभिभावक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
परवानीपुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा, गाउँपालिकाको सहयोग तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चैनपुरको सहकार्यमा विद्यालय परिसरस्थित मन्दिरको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमले सम्पूर्ण विद्यालय परिसरलाई योगमय वातावरणमा रूपान्तरण गरेको थियो।
कार्यक्रममा परवानीपुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रकी प्रमुख वैद्य नीलमकुमारीको अध्यक्षता रहेको थियो भने भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी शाह मिना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना शाह रौनियार, स्वास्थ्य शाखा प्रमुख मनिष मिश्रा, विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मी, माओवादी नेता बाबुराम कौशिक, रानीगञ्ज आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक धीरेन्द्रकुमार सिंह लगायत शिक्षक–शिक्षिका, सञ्चारकर्मी, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम तथा दैनिक जीवनमा योगको महत्वबारे प्रशिक्षण प्रदान गरिएको थियो। योग प्रशिक्षण नागरिक आरोग्य सेवा केन्द्रकी प्रमुख वैद्य नीलमकुमारीले दिएकी थिइन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न योगासनहरूको आकर्षक डेमोन्स्ट्रेसन प्रस्तुत गर्दै योगको महत्व र प्रभावकारिताबारे सन्देशमूलक प्रस्तुति दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ बनाउनुका साथै तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा स्वस्थ र दीर्घायु जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले योगलाई आधुनिक जीवनशैलीको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका थिए।
विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागिता र अनुशासित प्रस्तुतीका कारण कार्यक्रम थप प्रभावकारी बनेको थियो। सामूहिक योग अभ्यासमा सहभागीहरूले स्वस्थ जीवनका लागि योग अपरिहार्य रहेको सन्देश प्रवाह गरेका थिए।
योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले योगप्रति बढ्दो आकर्षण र जनचेतनाको सकारात्मक संकेत दिएको सहभागीहरूले बताएका छन्।