पर्सा पोस्ट, असार ११ गते, वीरगञ्ज ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनका क्रममा हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थामाथि गम्भीर चोट पुग्ने खालको अभिव्यक्ति दिइएको भन्दै पर्साका दुई प्रमुख धार्मिक सङ्गठनहरूले कडा विरोध जनाएका छन्।
राष्ट्रिय बजरंग दल, पर्सा र नेपाल विश्व हिन्दु महासंघ, पर्साले बिहीबार संयुक्त रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन–पत्र बुझाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेका हुन्। उक्त ज्ञापन–पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाइएको छ।नेपाल विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष श्रीनन्दन भारद्वाज तथा राष्ट्रिय बजरंग दल पर्साका प्रतिनिधि विवेक सिन्हाको नेतृत्वमा पुगेको टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति राज्य गम्भीर बन्नुपर्ने माग गरेको हो।
भगवान राम–लक्ष्मणसँग राजनीतिक नेताको तुलना गरिएको भन्दै आक्रोश:
ज्ञापन–पत्रमा रास्वपाको महाधिवेशनमा वीरगञ्जबाट सहभागी प्रतिनिधि महबुब आलमले सञ्चारमाध्यममार्फत सस्तो लोकप्रियता र राजनीतिक स्टन्टबाजीका लागि हिन्दुहरूको आराध्य देव भगवान श्रीराम र लक्ष्मणको नामलाई राजनीतिक प्रसंगमा जोडेको आरोप लगाइएको छ।
उक्त अभिव्यक्तिमा भगवान श्रीराम र लक्ष्मणलाई राजनीतिक दलका नेता रवि लामिछानेसँग तुलना गरिएको भन्दै दुवै सङ्गठनले त्यसलाई “अमर्यादित, अराजनीतिक र धार्मिक भावनामाथिको आक्रमण” को संज्ञा दिएका छन्।
<span;>राष्ट्रिय बजरंग दल पर्साका प्रतिनिधि विवेक सिन्हा र नेपाल विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष श्रीनन्दन भारद्वाजले कुनै पनि राजनीतिक व्यक्तिको महिमामण्डन गर्न करोडौँ हिन्दुहरूको आस्थाका केन्द्र भगवान श्रीरामको नाम विवादमा तान्नु अत्यन्त निन्दनीय र घृणित कार्य भएको बताएका छन्।
ज्ञापन–पत्रमार्फत अघि सारिएका प्रमुख माग
<span;>धार्मिक सङ्गठनहरूले ज्ञापन–पत्रमार्फत सरकारसमक्ष विभिन्न मागहरू राखेका छन्। उनीहरूले राजनीतिक प्रचार, व्यक्तिगत स्वार्थ वा सस्तो चर्चाका लागि देवी–देवताहरूको नाम दुरुपयोग गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्।
त्यस्तै, हिन्दु धर्मावलम्बीहरूको धार्मिक भावनामा आँच पुग्ने गरी गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति तथा त्यसलाई प्रश्रय दिने पक्षले अविलम्ब सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिएको छ।
साथै, भविष्यमा सनातन धर्म, देवी–देवता तथा धार्मिक आस्थामाथि प्रहार हुने खालका यस्ता गतिविधि दोहोरिए कडा आन्दोलनमा उत्रिने र कानुनी प्रक्रियासमेत अघि बढाउने चेतावनी दिइएको छ।
प्रशासनले भन्यो – “विषय गम्भीर छ”
ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिलाई प्रशासनले गम्भीर रूपमा लिएको बताउनुभयो। उहाँले कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन समेत दिनुभयो।
दुवै धार्मिक संस्थाले धर्म, संस्कृति र सनातन परम्पराको संरक्षणका लागि सम्पूर्ण हिन्दु समुदायलाई एकजुट हुन आह्वान गरेका छन्।