अजित कुमार भुजेल , बिरगंज । नवौं प्याब्सन अन्तर विद्यालय क्रिकेटको उद्घाटनको पहिलो खेलमा सेण्ट जेभियर्स मावि र फुटबल खेलमा नवदिप एकेडेमी विजयी भएको छ ।
नारायणी रंगशाला स्थित टीबी शाह क्रिकेट मैदानमा आज सेण्ट जेभियर्स र श्री आदर्श स्कुलबीच भएको खेलमा सेण्ट जेभियर्स ९ विकेटले विजयी भएको हो ।
१५ ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै सेण्ट जेभियर्सले ७ विकेट गुमाउदै १०२ रन जोडेका थिए । १०३ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको श्री आदर्श मावि ६ विकेटको क्षतिमा ९३ रनमै सिमित रहे ।
उद्घाटन खेलको म्यान अफ द म्याच सेण्ट जेभियर्सका दीपेश साह घोषित भएका थिए , दिपेशलाई नगद एक हजार रुपैया नगद र मायाको चिनो समेत प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले पुरस्कृत गरेका थिए ।
त्यसैगरि नकआउट जुनियर फुटबल प्रतियोगिताको उद्घाटन खेल साउथजोन मावि र नवदीप एकेडेमी बीच भएको खेलमा नवदिप एकेडेमी बिजयी भएको छ । ३०-३० मिनेट गरि एक घन्टाको खेलमा दुबै समुहबाट गोल नभएपछि खेल ट्राईबेकरमा लम्बिएको थियो ।ट्राईबेकरमा ४-३ गोलले नवदिप एकेडेमी बिजयी भएको थियो ।
यस खेलमा नवदिप एकेडेमीका गोलकिपर राज चौधरी प्लेयर अफ दि म्याच घोषित भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्सा पछाडिको प्रदेश विपद व्यावस्थापन गुल्मको खेल मैदानमा फुटबल खेल जारी रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले बताए ।
निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) पर्साको आयोजनामा नवौं संस्करण वीरगन्जको नारायणी रंगशाला स्थित टीबी शाह क्रिकेट मैदानमा उद्घाटन गरिएको थियो ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा शुरु भएको प्रतियोगिताको प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले उद्घाटन गर्नुभएको थियो ।
क्रिकेट प्रतियोगितामा २७ वटा विद्यालय र फुटबलमा २० वटा पर्साका निजी विद्यालयहरुले सहभागिता जनाएका छन् । उद्घाटन समारोहमा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा , पुर्व केन्द्रिय सदस्य प्रकाश उपाध्याय , मधेस प्रदेशका पुर्व उपाध्यक्ष श्याम केसि , मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशरण साह , जिल्लाका पदाधिकारी तथा सदस्यहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले बताए ।
स्वागत मन्तव्य प्याब्सन पर्साका उपाध्यक्ष सुशिला साहले र कार्यक्रम सन्चालन सचिब अशोक संगौलाले गर्नु भएको थियो ।