पर्सा पोस्ट, जेष्ठ ३१ गते, बारा ।
“मधेस घुमौँ, मधेस बुझौँ” भन्ने नारासहित मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको चारदिने “मधेस ट्राभल मार्ट” आइतबार सम्पन्न भएको छ। मधेस प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने लक्ष्यसहित गत शुक्रबारदेखि सुरु भएको कार्यक्रम नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशले गरेको थियो।

कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका पर्यटकीय स्थल, स्थानीय संस्कृति, परिकार तथा धार्मिक सम्पदाको प्रचारप्रसार गरिएको थियो। आयोजकका अनुसार नेपाल र भारतका विभिन्न सहरबाट दुई सयभन्दा बढी पर्यटन व्यवसायी, टुर अपरेटर, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर तथा पर्यटक सहभागी भएका थिए। भारतको रक्सौल, पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकातालगायतका सहरबाट आएका पर्यटन व्यवसायीलाई मधेस प्रदेशका सम्भावनायुक्त पर्यटकीय क्षेत्रको प्रत्यक्ष अवलोकन गराइएको थियो।

नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले भारतीय पर्यटकको आगमन वृद्धि गर्ने लक्ष्यसहित ट्राभल मार्ट आयोजना गरिएको बताउँदै मधेसका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई भारतीय पर्यटन बजारसँग जोड्ने प्रयास गरिएको जानकारी दिए। उनले यस्ता कार्यक्रमले नेपाल–भारतबीचको धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रम चार दिनसम्म नेपाल पर्यटन बोर्ड, स्थानीय तह तथा विभिन्न साझेदार निकायको सहकार्यमा सञ्चालन गरिएको थियो। कार्यक्रमको सचिवालय जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको थियो भने वीरगञ्ज महानगरपालिका र बर्दिबास नगरपालिकाले समेत सहयोग गरेका थिए।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले मधेस प्रदेश पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले ओझेलमा रहेका गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन मद्दत पुग्ने बताए। उनले अमलेखगञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत ट्राभल मार्ट आयोजना गरिएको जानकारी दिए।

कार्यक्रमको औपचारिक उद्घाटन शुक्रबार वीरगञ्जस्थित होटल सरोवरमा गरिएको थियो। उद्घाटनअघि सहभागीहरूलाई प्रसिद्ध गढीमाई मन्दिरको दर्शन गराइएको थियो। त्यसपछि टोली सिमरा पुगेर होटल क्लासिक प्लाजामा पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएको थियो।
दोस्रो दिन सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुट तथा पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइएको थियो। त्यसपछि टोली बर्दिबासस्थित तुलेश्वर महादेव मन्दिर हुँदै जनकपुरधाम पुगेको थियो। जनकपुरमा मिथिला आर्ट ग्यालरी अवलोकन, जानकी मन्दिर दर्शन तथा साँझको गंगा आरतीमा सहभागिता गराइएको आयोजकले जनाएको छ।

भारतीय टुरिष्ट एन्ड ट्राभल प्रतिनिधिहरूले मधेस प्रदेश धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले नेपाल प्रवेश गर्ने मुख्य नाकाहरूमा पर्यटकका लागि चेकजाँच प्रक्रिया सहज, सरल र पर्यटकमैत्री बनाउन प्रशासनले विशेष सहयोग गर्नुपर्ने सुझाव दिएका छन्। साथै कम समय र कम खर्चमा धेरै पर्यटकीय गन्तव्य घुम्न सकिने गरी एकीकृत पर्यटन प्याकेज तयार गर्न सके भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्न सक्ने धारणा व्यक्त गरेका छन्।
त्यसैगरी भ्रमणमा सहभागी भारतीय सञ्चारकर्मीहरूको टोलीले मधेस प्रदेशका धार्मिक तथा प्राकृतिक सम्पदाले आफूहरूलाई अत्यन्त प्रभावित बनाएको प्रतिक्रिया दिएको छ। उनीहरूले पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई मन्दिर, जनकी माताको मन्दिर, चुरियामाई मन्दिर, भरतताल तथा ५५१ मिटर उचाइको पहाडको टुप्पोमा अवस्थित सिद्धबाबा मन्दिर विशेष आकर्षणको केन्द्र बनेको बताएका छन्। स्थानीय जनविश्वासअनुसार सिद्धबाबा मन्दिरमा मनले चिताएको भाकल पूरा हुने मान्यता रहेको उनीहरूले उल्लेख गरेका थिए।

चारदिने भ्रमण तथा अवलोकन कार्यक्रमपछि आइतबार जनकपुरधामबाट सहभागीहरूलाई बिदाइ गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार “मधेस ट्राभल मार्ट” ले मधेस प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै भारतीय पर्यटक भित्र्याउने अभियानलाई थप प्रभावकारी बनाउँदै पर्यटन क्षेत्रको आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।