पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज ।
महामारी तथा स्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले सरोकारवाला निकायहरूसँग समन्वय तथा जानकारी आदानप्रदान बैठक सम्पन्न गरेको छ।
वीरगञ्जस्थित होटल गेटवेमा आयोजित बैठक नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा महामारीको सम्भावित जोखिम, स्वास्थ्य आपत्कालीन अवस्था तथा त्यसबाट उत्पन्न हुन सक्ने चुनौतीहरूको सामना गर्न आवश्यक पूर्वतयारी, समन्वय र प्रतिकार्य प्रणालीलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय तहदेखि समुदायस्तरसम्म स्वास्थ्य सुरक्षा प्रणालीलाई मजबुत बनाउन संयुक्त प्रयास आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमका अधिकृत शिवप्रसाद सुवेदी ले महामारी तयारी तथा प्रतिकार्य सुदृढीकरण कार्यक्रमअन्तर्गत समुदाय र स्वास्थ्यकर्मीको क्षमता विकासमा विशेष जोड दिइने जानकारी दिए। उनका अनुसार मनोसामाजिक परामर्श तालिम, समुदायमा आधारित रोग खोजपडताल तालिम, रेडक्रस आपत्कालीन क्लिनिक सञ्चालन तालिम तथा स्वास्थ्यकर्मी एवं स्वयंसेवकहरूको दक्षता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी वीरगञ्ज महानगरपालिकाको आपत्कालीन स्वास्थ्य पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा प्राविधिक सहयोग प्रदान गर्ने, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, खानेपानीका मुहानहरूको सर्वेक्षण तथा पानीको गुणस्तर सुधारसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी पनि दिइएको छ।
बैठकले महामारी नियन्त्रण तथा स्वास्थ्य संकटको समयमा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न सम्बन्धित निकायबीच सहकार्य, समन्वय र साझेदारीलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको छ।
अधिकृत सुवेदीका अनुसार कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं. ११, १२ र १३ मा केन्द्रित भएर सञ्चालन गरिनेछ। कार्यक्रममार्फत समुदायस्तरमा स्वास्थ्य सुरक्षा प्रणाली मजबुत बनाउने, जनचेतना अभिवृद्धि गर्ने तथा महामारी प्रतिकार्य क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।