बिश्व वातावरण दिवसमा मितेरी पुल क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ

Date:

पर्सा पोस्ट , जेष्ठ २२ गते , वीरगञ्ज ।
विश्व वातावरण दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सशस्त्र प्रहरीको संयुक्त आयोजनामा वीरगञ्जस्थित मितेरी पुल क्षेत्रमा वृक्षारोपण तथा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

“हरियाली वीरगञ्ज, स्वच्छ वातावरण र स्मार्ट सिटी” निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिनुका साथै सार्वजनिक क्षेत्रको सरसफाइ गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसाल, सशस्त्र प्रहरी भन्सार गुल्मका डीएसपी विकास अधिकारी, सामुदायिक प्रहरीका पदाधिकारी, समाजसेवी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खेतानले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारीसमेत भएको बताए। उनले बढ्दो प्रदूषण, जलवायु परिवर्तन तथा हरियाली क्षेत्रको कमीले मानव स्वास्थ्य र जीवनशैलीमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्दै वातावरण जोगाउन सबै नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे।

उनले भने, “एक व्यक्तिले एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने अभियानलाई व्यवहारमा उतार्न सके वातावरण संरक्षणमा ठूलो योगदान पुग्छ। हरियाली बढाउनु भनेको स्वस्थ, सुरक्षित र सभ्य भविष्य निर्माण गर्नु हो।”
अध्यक्ष खेतानले ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर विगतदेखि नै हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, सरसफाइ अभियान, स्वास्थ्य सचेतना, विपद् व्यवस्थापन तथा सामाजिक सेवामूलक मानवीय कार्यहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको र आगामी दिनमा पनि निरन्तर सक्रिय रहने बताए।

उनका अनुसार सामुदायिक प्रहरी र स्थानीय तहबीचको सहकार्यले सामाजिक तथा वातावरणीय क्षेत्रमा सकारात्मक परिणाम ल्याइरहेको छ। “स्मार्ट सिटीको अवधारणालाई सफल बनाउन सफा वातावरण, हरियाली र नागरिक सचेतना आवश्यक छ,” उनले बताए।
कार्यक्रम सम्पन्न भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४७ औँ बटालियन, रक्सौलका प्रतिनिधिहरूलाई वातावरणीय सहकार्य तथा सीमावर्ती क्षेत्रमा हरियाली प्रवर्द्धनको सन्देशस्वरूप पाँच वटा बिरुवा हस्तान्तरण गरिएको थियो। आयोजकका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा वातावरण संरक्षणका लागि आपसी सहकार्य अझ सुदृढ बनाउने उद्देश्यले उक्त बिरुवा हस्तान्तरण गरिएको हो।

सहभागीहरूले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धि गर्नुका साथै स्वच्छ, हरित र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...