पर्सा पोस्ट , जेष्ठ २१ गते , कोल्हवी, बारा ।
कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विभिन्न रोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
शिविरअन्तर्गत जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग र छाला रोग सम्बन्धी विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो। उक्त शिविरबाट कुल ३६६ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

कार्यक्रममा कोल्हवी नगरपालिकाका जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। नेशनल मेडिकल कलेज, वीरगञ्जको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रज किशोर चौधरी, डा. बनारसी लाल कसारी (MDGP), स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सन्तोष झा, अर्थोपेडिक विशेषज्ञ डा. ओमप्रकाश तथा छाला रोग विशेषज्ञ डा. नीलमणि प्रियदर्शीलगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीको पनि उपस्थिति रहेको थियो।

यसै अवसरमा कोल्हवी नगरपालिका र नेशनल मेडिकल कलेज, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतामा नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान तथा कोल्हवी नगरपालिकाको तर्फबाट नगर प्रमुख रामप्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको थियो।
सम्झौताअनुसार अब कोल्हवी नगरपालिकाका नागरिकहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट सुविधा प्राप्त गर्नेछन्। साथै नियमित निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम तथा अन्य सामुदायिक स्वास्थ्य गतिविधिहरू सञ्चालन गर्न दुवै पक्षबीच सहकार्य गरिने जनाइएको छ।
“सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म” भन्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय नागरिकहरूको स्वास्थ्य पहुँच अभिवृद्धि गर्नुका साथै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।