महासंघ पर्सामा तालाबन्दीप्रति आपत्ति : ‘ सस्थाको गरिमामाथि प्रहार ‘

Date:

पर्सा पोस्ट । जेष्ठ १५ गते, वीरगञ्ज ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाएको छ। शाखाले शुक्रबार सचिव विजय महतोद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा गरिएको गतिविधिले संस्थाको गरिमा, पत्रकारहरूको एकता तथा पर्सेली पत्रकारिताको साखमाथि प्रत्यक्ष आघात पुगेको जनाएको हो।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ पर्सा शाखा कुनै व्यक्ति वा समूह विशेषको संस्था नभई सम्पूर्ण सञ्चारकर्मीहरूको साझा संस्था भएको उल्लेख गर्दै सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको अवस्थामा कुनै औपचारिक जानकारीबिनै तालाबन्दी गर्नु दुःखद, आपत्तिजनक तथा गैरजिम्मेवार कदम भएको जनाइएको छ।

महासंघले सदस्यता शुद्धीकरणको विषयमा शाखा पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै शुद्धीकरण प्रक्रिया व्यक्तिगत आग्रह, दबाब वा आवेगका आधारमा नभई संस्थाको विधि, विधान, विगतका निर्णय र सहमतिका आधारमा मात्रै अघि बढ्नुपर्ने जनाएको छ।

विज्ञप्तिअनुसार शाखा नेतृत्वले तत्कालीन अध्यक्ष अनुप तिवारीलाई २०८३ जेठ ७ गते औपचारिक पत्राचार गर्दै तीन दिनभित्र निर्णय पुस्तिका, सदस्यता अभिलेख तथा आर्थिक हरहिसाब बुझाउन आग्रह गरेको थियो। तर आवश्यक कागजात उपलब्ध गराउनुको सट्टा उहाँकै नेतृत्वमा शाखा कार्यालयमा तालाबन्दी गरिएको भन्दै महासंघले यस घटनाले नियतमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ।

शाखाले हाल कायम सदस्यता निवर्तमान नेतृत्वकै कार्यकालमा कायम भएको तथा सोही सदस्यहरूको मताधिकारबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा समेत निर्णय पुस्तिका, आर्थिक विवरण र अभिलेख हस्तान्तरण नगरिनु चिन्ताजनक भएको जनाएको छ। साथै साधारणसभा गर्ने तयारी भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गतिविधि हुनु थप शंकास्पद देखिएको विज्ञप्तिमा उल्लेख छ।

कार्यसमितिको पदस्थापनकै दिन निर्णय पुस्तिका हस्तान्तरण नगरिनु, पटक–पटक आग्रह गर्दा बेवास्ता गरिनु, ३० दिनभित्र हरहिसाब बुझाउने निर्णय कार्यान्वयन नगर्नु तथा बैठकहरूमा अवरोध सिर्जना हुनुजस्ता गतिविधिले संस्थालाई अन्योल र असहजतातर्फ धकेल्ने प्रयास भइरहेको शाखाको ठहर छ।

महासंघले निर्णय पुस्तिका, आर्थिक हरहिसाबलगायत सम्पूर्ण अभिलेख तत्काल शाखालाई बुझाई सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न तथा शाखा कार्यालयमा लगाइएको तालाबन्दी अविलम्ब खोल्न पुनः आग्रह गरेको छ।

शाखाले आफू सधैं संवाद, सहकार्य र संस्थाको हितमा प्रतिबद्ध रहेको जनाउँदै संस्थाको गरिमा, पत्रकारहरूको साझा प्रतिष्ठा तथा कानुनी अधिकारमाथि निरन्तर प्रहार भइरहे आवश्यक कानुनी उपचारको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

समाजसेवी चौधरीद्वारा युवालाई खेलकुदतर्फ आकर्षित गर्न क्रिक्रेट सामग्री सहयोग

पर्सा पोस्ट , जेष्ठ १५ गते , वीरगञ्ज । जगरनाथपुर...

साँचो गरिमा भद्रता र सद्रुणबाट प्राप्त हुन्छ : समाजसेवी बिमल्र सरार्फ

पर्सा पोस्ट , जेष्ठ १५ गते , रक्सौल, पूर्वी...

गणतन्त्र दिवसको अवसरमा पत्रकार महासंघ मधेस प्रदेशको आफ्नै भवन शिलान्यास

पर्सा पोस्ट , जेष्ठ १५ गते , जनकपुरधाम । नेपाल...