गुणस्तरहीन ‘ तेज’ तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन उपभोक्ताको स्वास्थ्यमा खेलवाड रोक्न कडा कार्वाहीको माग

Date:

पर्सा पोस्ट, जेष्ठ १५ गते, काठमाडौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षणपछि उक्त तेल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएको जनाएको हो।

विभागका अनुसार रुपन्देहीको गुरबानियास्थित सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेलको ब्याच नम्बर २० परीक्षणका क्रममा न्यूनस्तरको पाइएपछि सम्बन्धित उत्पादन बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको हो। उक्त तेल आयातित तोरी गेडाबाट उत्पादन गरिएको जनाइएको छ।

तेलको उत्पादन मिति २०८२ फागुन २८ उल्लेख गरिएको छ भने यसको उपभोग्य अवधि ६ महिना रहेको छ। प्रयोगशालामा गरिएको परीक्षणका क्रममा विभिन्न मापदण्डका आधारमा नमुना गुणस्तर अनुरूप नभेटिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सम्बन्धित उत्पादकलाई बजारबाट सम्पूर्ण ब्याच फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले उक्त ब्याचको तेल बिक्री–वितरण नगर्न तथा नगराउन उत्पादक, विक्रेता र व्यवसायीलाई निर्देशन दिएको छ। साथै उपभोक्तालाई पनि सोही ब्याच नम्बरको तेल प्रयोग नगर्न आग्रह गरिएको छ। खाद्य विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरहीन खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरणमा कडाइ गरिने जनाएको छ।

यद्यपि पछिल्लो समय बजारमा गुणस्तरहीन खाद्यवस्तु, मिसावटयुक्त तेल, म्याद नाघेका सामग्री तथा न्यून गुणस्तरका उपभोग्य वस्तु बिक्री भइरहेको विषय बारम्बार सार्वजनिक भइरहँदा पनि प्रभावकारी कानुनी कारबाही नहुँदा उद्योगी तथा व्यवसायीहरूको मनोबल बढ्दै गएको आमउपभोक्ताको गुनासो छ।

उपभोक्ताहरूले अनुगमन हुने, सूचना सार्वजनिक हुने तर दोषीमाथि कडा दण्ड नहुँदा उपभोक्ताको स्वास्थ्यमा निरन्तर खेलवाड भइरहेको बताएका छन्। “प्रत्येक केही महिनामा कुनै न कुनै खाद्यवस्तु गुणस्तरहीन भेटिएको समाचार आउँछ, तर उद्योगीलाई कडा सजाय भएको देखिँदैन,” एक उपभोक्ताले गुनासो गरे।

खाद्य क्षेत्रमा हुने लापरवाहीले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै उपभोक्ता अधिकारकर्मीहरूले नियमन निकाय थप जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनीहरूले नियमित बजार अनुगमन, प्रयोगशाला परीक्षण, दोषी उद्योगमाथि कडा जरिवाना तथा सार्वजनिक जवाफदेहिताको व्यवस्था प्रभावकारी बनाउन माग गरेका छन्।

व्यवसायीहरूले पनि खाद्यवस्तुको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने, उत्पादन प्रक्रियामा मापदण्ड पालना गर्नुपर्ने तथा उपभोक्ताको स्वास्थ्यसँग कुनै सम्झौता गर्न नहुने सरोकारवालाहरूको भनाइ छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी दिनमा पनि बजार अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ। तर उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न नियमन निकाय, उत्पादक, व्यवसायी तथा उपभोक्ता सबै पक्ष सचेत र जिम्मेवार बन्न आवश्यक देखिएको छ।

नोट: बित्तिय पोस्ट डट कम अनलाइनमा प्रकाशित समाचारलाई आधार मानेर तयार पारिएको न्युज हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

महासंघ पर्सामा तालाबन्दीप्रति आपत्ति : ‘ सस्थाको गरिमामाथि प्रहार ‘

पर्सा पोस्ट । जेष्ठ १५ गते, वीरगञ्ज । नेपाल पत्रकार...

समाजसेवी चौधरीद्वारा युवालाई खेलकुदतर्फ आकर्षित गर्न क्रिक्रेट सामग्री सहयोग

पर्सा पोस्ट , जेष्ठ १५ गते , वीरगञ्ज । जगरनाथपुर...

साँचो गरिमा भद्रता र सद्रुणबाट प्राप्त हुन्छ : समाजसेवी बिमल्र सरार्फ

पर्सा पोस्ट , जेष्ठ १५ गते , रक्सौल, पूर्वी...

गणतन्त्र दिवसको अवसरमा पत्रकार महासंघ मधेस प्रदेशको आफ्नै भवन शिलान्यास

पर्सा पोस्ट , जेष्ठ १५ गते , जनकपुरधाम । नेपाल...