पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज ।
पर्साको जगरनाथपुर गाउँपालिका–२ मा बसोबास गर्ने एक अति विपन्न तथा असहाय दलित बिहेवारी परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ। आर्थिक अभावका कारण विवाह सम्पन्न गर्न कठिनाइ भोगिरहेको परिवारलाई लक्षित गर्दै गरिएको उक्त सहयोगले स्थानीय समुदायमा सकारात्मक सन्देश दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता एवं समाजसेवी बृजेश्वार चौधरीको पहलमा सामाजिक संवेदनशीलता र मानवीय भावनालाई आत्मसात गर्दै सहयोग प्रदान गरिएको हो।
स्थानीय पहलस्वरूप वडा नं. २ जानकीटोल निवासी सन्तोष कुमारले २ बोरा चामल, १ बोरा आलु तथा १ सानो बोरा प्याज लगायतका खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो। यस सहयोगले विवाह तयारीमा जुटेको परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ।
सहयोगदाता सन्तोष कुमारले भन्नुभयो, “थोरै भए पनि बहिनीको विवाहमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो सामग्री उपलब्ध गराइएको हो।”
सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी बृजेश्वार चौधरीको समेत उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाहरूले यस्तो मानवीय कार्यको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक पहलहरू निरन्तर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
सहयोगदाता सन्तोष कुमारप्रति कृतज्ञता व्यक्त गर्दै स्थानीय समुदायले उहाँको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरेको जनाएको छ।