पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज :
हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरीपुलसम्म दायाँबायाँ २५–२५ मिटर क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानप्रति असन्तुष्टि जनाउँदै स्थानीय बासिन्दा तथा व्यवसायीहरू आन्दोलित भएका छन्। गत बैशाख ६ गते बिहानै सडक डिभिजन कार्यालय हेटौंडाबाट आएको डोजरले वीरगञ्ज महानगरपालिका र प्रहरी प्रशासनको सहयोगमा संरचना भत्काएपछि प्रभावितहरू आक्रोशित बनेका हुन्।
आन्दोलनरत पक्षले आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए। उनीहरूले “विकासको नाममा विनाश बन्द गर”, “व्यवसायीलाई बाँच्न देऊ” लगायतका नारा लगाउँदै आफ्नो पीडा व्यक्त गरेका थिए।
प्रभावित व्यवसायीहरूले बिना पूर्वसूचना र पर्याप्त समय नदिई अचानक डोजर चलाइँदा आफूहरू सडकमा आउन बाध्य भएको गुनासो गरेका छन्। “हामीले बैंकबाट ऋण लिएर व्यापार गरिरहेका थियौं, सामानसमेत सुरक्षित राख्न नपाउँदै सबै नष्ट गरियो, अब आत्महत्या गर्नुबाहेक विकल्प देखिँदैन,” एक पीडित व्यवसायीले दुखेसो पोखे।
उनीहरूले भत्काइएका संरचनाका कारण लाखौंको क्षति भएको दाबी गर्दै तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। साथै, वैकल्पिक व्यवस्था नगरी गरिएका यस्ता कदमले सर्वसाधारणको जीवन कष्टकर बनेको उनीहरूको भनाइ छ।
यसै क्रममा ‘वीरगञ्ज बचाऔँ संघर्ष समिति’को अगुवाइमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा क्षतिपूर्ति, पुनःस्थापना तथा पीडितलाई राहत उपलब्ध गराउन माग गरिएको छ।
संघर्ष समितिका प्रतिनिधिहरूले डोजर कारबाहीपछि विद्युत्, खानेपानी लगायत आधारभूत सेवामा समस्या उत्पन्न हुँदा वृद्धवृद्धा, बिरामी तथा बालबालिकाहरू झनै प्रभावित भएको बताएका छन्। उनीहरूले मानवीय संवेदनशीलता ख्याल नगरी गरिएको यस्तो कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्।
प्रशासनले भने सडक विस्तार दीर्घकालीन विकासका लागि आवश्यक भएको बताउँदै समन्वय र सहकार्यबाट समस्या समाधान गर्ने संकेत दिएको छ। तर पीडित पक्षले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।