पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज ।
जिल्ला ट्राफिक कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा भारतीय नम्बर प्लेट भएका सवारीसाधनलाई लक्षित गर्दै वीरगञ्जमा कडाइका साथ विशेष चेकिङ अभियान सञ्चालन गरिएको छ।
बुधबार दिउँसो ४:०० बजेदेखि ५:३० बजेसम्म छपकैया प्रहरी बिट अगाडिको सडक खण्डमा सञ्चालन गरिएको उक्त अभियानमा सवारीसाधनहरूलाई रोकि–रोकि कागजात जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अभियानका क्रममा करिब ४० वटा मोटरसाइकल, स्कुटर तथा कारहरू जाँच गरिएको थियो। तीमध्ये ११ जना चालकसँग सवारी दर्ता प्रमाणपत्र (आरसी बुक), ब्लु बुक लगायत आवश्यक कागजात नभएको तथा भन्सार इन्ट्री समेत नगरिएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवालले जानकारी दिए।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदीका अनुसार भारतबाट ल्याइएका केही इलेक्ट्रिक स्कुटरहरू बिना नम्बर प्लेट सञ्चालन भइरहेको समेत भेटिएको थियो। त्यस्ता सवारीका चालकहरूलाई पहिलो चरणमा सम्झाई–बुझाई गरी छाडिएको उनले बताए।
प्रहरीका अनुसार पछिल्लो समय वीरगञ्ज क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधनको अव्यवस्थित प्रयोग बढ्दै गएको गुनासो आएपछि विशेष निगरानीसहित अभियान सञ्चालन गरिएको हो। यसले सवारी व्यवस्थापन, राजस्व संकलन र सुरक्षा व्यवस्थामा सुधार ल्याउने विश्वास गरिएको छ।
प्रहरीले कागजातविहीन तथा नियमविपरीत सञ्चालन भइरहेका सवारीसाधनमाथि आगामी दिनमा पनि निरन्तर रूपमा कडाइका साथ चेकिङ अभियान सञ्चालन गरिने जनाएको छ। साथै, सर्वसाधारणलाई आवश्यक कागजात सहित मात्र सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ।