पर्सा पोस्ट, माघ ९ गते, वीरगञ्ज ।
जिल्ला पर्सा अन्तर्गत वीरगञ्जको घण्टाघरस्थित बी.पी. उत्थान संग्रहालय परिसरमा आज सोमबार बृहत वृक्षरोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रम वीरगञ्ज महानगरपालिकाका हरियाली संयोजक तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सिडियो) भोला दाहाल, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एसपी मोहन क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, नगर प्रहरी, सामुदायिक प्रहरी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोप्दै सहभागीहरूले वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर राजेशमान सिंहले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भविष्यप्रतिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “हरियाली बिना स्वस्थ जीवन सम्भव छैन। आज रोपिएको एउटा बिरुवाले भोलि पुस्तालाई स्वच्छ हावा, छायाँ र जीवन दिनेछ। वीरगञ्ज महानगरपालिकाले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।”
त्यसैगरी अध्यक्ष प्रकाश खेतानले सामुदायिक सहभागितामार्फत हरियाली अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै वृक्षरोपणसँगै यसको संरक्षणमा पनि सबैले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
उल्लेखनीय छ कि यसअघि बी.पी. उत्थान वीरगञ्जको उक्त जग्गामा तरकारी बजार, फलफूल बजार तथा कपडा पसलहरू सञ्चालनमा रहेका थिए। केही दिनअघि मात्रै वीरगञ्ज महानगरपालिकाले सो स्थानमा रहेका अव्यवस्थित बजार तथा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काएर क्षेत्र खाली गराएको थियो। सोही स्थानलाई हरियाली क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यसहित वृक्षरोपण कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रमले स्थानीय समुदायमा वातावरणप्रति चेतना बढाउनुका साथै अतिक्रमणमुक्त सार्वजनिक स्थललाई हरियाली क्षेत्रमा रूपान्तरण गर्दै ‘हरियाली वीरगञ्ज’ निर्माणतर्फ महत्वपूर्ण सन्देश दिएको जयप्रकाश खेतानले बताएका छन्।