पर्सा पोस्ट, माघ १० गते, वीरगन्ज ।
वीरगन्ज कपडा बैंकले पर्सा जिल्लाको कालिकामाइ गाउँपालिका–४ स्थित परशुरामपुर बलुवा टोलमा नि:शुल्क कम्बल वितरण गरेको छ।
जाडो मौसमलाई मध्यनजर गर्दै दलित तथा एकल महिलालाई लक्षित गरी २० थान कम्बल वितरण गरिएको कपडा बैंकका सदस्य तथा युवा समाजसेवी नवराज भट्टराईले जानकारी दिनुभयो। उक्त कम्बल सहयोग वीरगन्ज कपडा बैंकका सल्लाहकार समाजसेवी राजेश बर्णवालले उपलब्ध गराउनुभएको हो।
कम्बल वितरण कार्यक्रममा प्रमुख अतिथि कालिकामाइ गाउँपालिका–४ का वडाध्यक्ष संजय कुमार साहले दिनदुःखी, असहाय तथा विपन्न वर्गको सेवा सहयोगमा सबैले सक्दो योगदान गर्नुपर्ने बताउनुभयो। “सेवा नै सर्वोत्तम धर्म हो” भन्दै उहाँले मानवताको मर्मअनुसार सहयोग गर्न सबैलाई आग्रह गर्नुहुँदै, वीरगन्जदेखि आएर कम्बल सहयोग उपलब्ध गराएकोमा वीरगन्ज कपडा बैंकको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय समाजसेवी सिकन्दर देवान, कपडा बैंकका सदस्य युवा समाजसेवी केदार गुप्ता लगायत स्थानीय अग्रज, युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष सिंहले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै, कोही पनि कपडाविहीन नहोस् भन्ने उद्देश्यका साथ विगत ७ वर्षदेखि दाताहरूको सहयोगमा दिनदुःखी, असहाय तथा विपन्न वर्गको सेवा गर्दै आइरहेको बताउनुभयो। आजको कम्बल सहयोग उपलब्ध गराइदिनु हुने सल्लाहकार समाजसेवी राजेश बर्णवालप्रति आभार व्यक्त गर्दै उहाँले मानवीय सेवामा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।