पर्सा पोस्ट, पुस ०३ गते, वीरगञ्ज ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालित दोस्रो संस्करणको प्याब्सन गर्ल्स एन्ड जुनियर बोयज टी–१० नकआउट क्रिकेट प्रतियोगिताको दोस्रो दिन बिहीबार आदर्शनगर रङ्गशालामा चार वटा रोमाञ्चक खेल सम्पन्न भएका छन्।
दोस्रो दिनको पहिलो खेल गर्ल्सतर्फ लिटिल फ्लावर स्कुल र गोल्डेन फ्युचर स्कुलबीच भएको थियो। गोल्डेन फ्युचरले पहिले ब्याटिङ गर्दै ८ ओभरमा ६ विकेट गुमाउँदै २३ रनको सामान्य योगफल बनाएको थियो। जवाफी ब्याटिङमा लिटिल फ्लावर स्कुलले १० ओभरमा २ विकेटको क्षतिमा २५ रन जोड्दै ८ विकेटको सहज जित हात पार्यो। सो खेलमा लिटिल फ्लावरकी अन्सु सिंह म्यान अफ द म्याच घोषित भइन्।
दोस्रो खेल बोयजतर्फ विकन स्कुल र सेन्ट जेभियर स्कुलबीच भएको थियो। विकन स्कुलले ८ ओभरमा ७ विकेट गुमाउँदै ४९ रन बनाएको लक्ष्य सेन्ट जेभियरले आत्मविश्वासका साथ पछ्याउँदै ५० रन जोडेर २ विकेटले विजय हासिल गर्यो। यद्यपि, सो खेलको म्यान अफ द म्याच विकन स्कुलका सर्फुदिन मिया घोषित भए।
तेस्रो खेल बोयजतर्फ नवदीप स्कुल र ज्ञान वाटिका स्कुलबीच सम्पन्न भयो। नवदीप स्कुलले ८ ओभरमा ५ विकेटको क्षतिमा ३८ रन बनाएको लक्ष्य ज्ञान वाटिकाले १३ ओभरमा २ विकेट गुमाउँदै ३९ रन बनाएर ८ विकेटको शानदार जित निकाल्यो। उक्त खेलमा गोबिन्द उपाध्याय (ज्ञान वाटिका) म्यान अफ द म्याच घोषित भए।
त्यसैगरी, दिनको अन्तिम खेल बोयजतर्फ चिल्ड्रेन वर्ल्ड एकेडेमी र कालिकामाई स्कुलबीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा कालिकामाई स्कुलले चिल्ड्रेन वर्ल्ड एकेडेमीलाई ४ विकेटले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान थप बलियो बनाएको छ। सो खेलमा लव कुमार साह (कालिकामाई) म्यान अफ द म्याच घोषित भए।
आयोजकका अनुसार प्रतियोगिताको तेस्रो दिन शुक्रबार बिहान ९ बजेदेखि खेलहरू सुरु हुनेछन्। शुक्रबार पहिलो खेल गर्ल्सतर्फ
माउन्ट एडमन्ड र जीवन ज्योति,दोस्रो खेल बोयजतर्फ अल्पाइन स्कुल र माउन्ट मकालु, तेस्रो खेल गर्ल्सतर्फ गौतम स्कुल र गुरुकुल स्कुल, चौथो खेल गर्ल्सतर्फ अल्पाइन स्कुल र एस.आर. ग्यालेक्सी,र अन्तिम खेल बोयजतर्फ गौतम स्कुल र गोल्डेन फ्युचर स्कुलबीच प्रतिस्पर्धा हुने जनाइएको छ।