पर्सा पोस्ट, मंसिर २९ गते, वीरगञ्ज ।
मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले डिजिटल युग र प्रविधिको तीव्र विकाससँगै सञ्चारकर्मीहरूले कृत्रिम बौद्धिकता (एआई) लाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा वीरगञ्जमा पर्सा जिल्लाका सञ्चारकर्मीहरूका लागि आयोजित एआई प्रयोगसम्बन्धी एकदिने तालिम कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रविधिबाट टाढा रहनु भनेको पछाडि पर्नु हो। एआईलाई सहयोगी उपकरणका रूपमा प्रयोग गर्न सके पत्रकारिता अझ प्रभावकारी बन्छ।”
पूर्व मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रले सुशासन प्रवर्द्धन र लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सञ्चारकर्मीहरूको सीप अभिवृद्धिका लागि आफू मुख्यमन्त्री रहँदा आमसञ्चार प्राधिकरण स्थापना गरिएको स्मरण गर्नुभयो।
तालिममा एआईको प्रयोग गरी समाचार लेखन, फ्याक्ट चेक, शीर्षक चयन, अडियो–भिडियो सम्पादन र डाटा विश्लेषण जस्ता विषयमा व्यवहारिक जानकारी दिइएको थियो। एआईले समय बचत गर्ने र समाचारको गुणस्तर सुधार गर्न सहयोग गर्ने प्रशिक्षकहरूको भनाइ थियो।
यद्यपि एआई प्रयोग गर्दा तथ्य जाँच नगरी सामग्री प्रकाशन गर्दा गलत सूचना फैलिने जोखिम हुने भएकाले सञ्चारकर्मीले अन्तिम जिम्मेवारी स्वयं लिनुपर्नेमा जोड दिइयो।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विभिन्न पत्रकार नेताहरूले एआईले सञ्चार क्षेत्रमा नयाँ अवसर र चुनौती दुवै ल्याएको बताएका थिए।
बिरगंजको टाउनहलमा सोमबार भएको तालिममा ७० भन्दा बढी सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो भने प्रशिक्षक सुरेश विडारी र प्रकाश मैनालीले एआईका व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो।