पर्सा पोस्ट, मंसिर २९ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वीरगञ्ज महानगर भेला सम्पन्न भएको छ। भेलाले महमद महमुद्दिन आलमको सभापतित्वमा २५ सदस्यीय महानगर समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित समितिको उपसभापतिमा परितोष द्विवेदी, सचिवमा गौतम श्रेष्ठ, उपसचिवमा मुन्ना साह चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कमल भुजेल, देवकी गुरुङ, रत्ना मानन्धर, पूर्णिमा शर्मा, सञ्जु शर्मा, कन्हैया प्रसाद, सन्दिप कुशवाह, आस महम्मद मन्सुरी, आजम मिया अन्सारी, विपिन शाह, लक्ष्मी नारायण साह, नगेन्द्र राउत थारु, प्रमोद कुमार पटेल, मुकेश कुमार कुर्मी, उमेश कुमार साह, प्रकाश कुमार कलवार, सदरे आलम, राज कुमार चौरसिया र राजकुमार उपाध्याय चयन भएका छन्।
भेलाको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डी.पी. अर्यालले गर्नुभएको थियो। उहाँले अब देशले रास्वपाको नेतृत्व खोजिरहेको र आगामी निर्वाचनले त्यसलाई स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साधिएको उल्लेख गर्दै यस विषयमा आगामी सरकारले कसरी कदम चाल्छ भन्ने कुरा सम्पूर्ण नेपाली जनताले नजिकबाट नियालीरहेको बताउनुभयो।
भेलाको सभापतित्व गर्नुभएका रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तले पर्सा जिल्लामा राजनीति भनेको भ्रष्टाचारी र अपराधीहरूले मात्र गर्ने भन्ने गलत भाष्य निर्माण भएको उल्लेख गर्दै अब पर्सेली जनताले त्यस्ता गलत नजिर तोड्ने दाबी गर्नुभयो। उहाँले पर्साका जनता अब परिवर्तनको पक्षमा उभिने स्पष्ट गर्नुभयो।
कृष्णा पासवानले सहजीकरण गर्नुभएको उक्त भेलामा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, नेताहरू जितेन्द्र मिश्र, मनोज कुर्मी, फैयाज मिया, पुरुषोत्तम उपाध्यक्ष, सब्बु कँडेल, दिलीप कुर्मी, राधिका न्यौपाने, मानिस शाहलगायतले मन्तव्य राखेका थिए।