पर्सा पोस्ट, मंसीर २८ गते, बिरगञ्ज ।
श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा वीरगञ्जस्थित होटेल भिस्वामा सफलतापूर्वक सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संस्थाका ज्येष्ठ नागरिक तथा नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज एवं कर्पोरेट डेभलपमेन्टका अध्यक्ष प्रो. डा. जैनुदिन अन्सारीले संस्थाले विगत १८ वर्षको अवधिमा जनताको विश्वास जित्दै निरन्तर प्रगति गरेकोमा प्रशंसा व्यक्त गरे। उनले समयमै साधारण सभा सम्पन्न गर्नु संस्थाको सुशासन र राम्रो व्यवसायिक अभ्यासको सूचक भएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्न शुभकामना व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले संस्थाका अध्यक्ष डा. नुसरत जहान अन्सारीको नेतृत्वको प्रशंसा गर्दै श्री हिमाल बचत तथा ऋण सहकारी संस्थाको सफल कार्यकालको शुभकामना दिए। उनले कर्मचारीहरूको कडा मिहिनेत र सञ्चालक समितिको सही व्यवस्थापनकै कारण संस्थाले सकारात्मक नतिजा हासिल गर्न सफल भएको बताए। साथै, हालसम्म संस्थासँग सम्बन्धित कुनै पनि नकारात्मक विषय बाहिर नआएकाले ढुक्क भएर कारोबार गर्न आम सर्वसाधारणलाई आग्रह गरे।
साधारण सभामा संस्थाका कर्मचारी, लगानीकर्ता, सेयरधनी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा उत्कृष्ट सेयर सदस्यहरूलाई खादा–माला लगाई मायाको चिनो सहित सम्मान गरिएको थियो भने प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष डा. नुसरत जहान अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य संस्थाका प्रबन्धक किरण ठाकुरले राखेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल शर्माले गरेका थिए।