पर्सा पोस्ट, कार्तिक २० गते, वीरगंज। महानगरपालिकालाई पुनः सहज रूपमा सञ्चालनमा ल्याउन सहयोगी हातहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ।
गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवन र कार्यालयका सामग्री पूर्ण रूपमा नष्ट भएका थिए। त्यसपछि सेवा प्रवाहमा प्रत्यक्ष असर परेको थियो।
नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने संस्थाको सम्पत्ति जलेपछि त्यसलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना र सामाजिक सङ्गठनहरूले सहयोग पुर्याइरहेका छन्। त्यसै क्रममा बिहीबार वीरगंज–२१ परवानीपुरस्थित के.एन.पी. जापान प्रा.लि. ले महानगरपालिकालाई २ थान कम्प्युटर सेट सहयोग गरेको छ।
महानगरपालिकाका सद्भावना दूत समेत रहेका वरिष्ठ उद्योगी अशोक वैद्यको पहलमा उद्योगले सो सहयोग गरेको हो। वैद्यको पहलमा यसअघि ब्रिटानिया नेपालले २० थान अफिस कुर्सी उपलब्ध गराएको थियो। उनका अनुसार, महानगरको सेवा प्रवाहमा कुनै अवरोध आउन नदिन आफूले विभिन्न उद्योगी–व्यवसायीसँग समन्वय गर्दै आवश्यक उपकरण तथा कार्यालय सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेका छन्।
यसअघि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, र औषधी व्यवसायी संघले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सीलगायतका सामग्री सहयोग गरिसकेका छन्।
महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था तथा उद्यमी समुदायप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो। यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ।”
उहाँका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छन्। साथै, महानगरले आगामी दिनमा अन्य आवश्यक सामग्रीका लागि पनि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य जारी राख्ने जनाएको छ।