पर्सा पोस्ट, असोज १५ गते, बिरगंज । बिरगंजमा लागेको दशैं मेलामा मंगलबार राति युवाहरूबीच भएको कुटपिटमा एक युवकको ज्यान गएको छ।
मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका करिब २२ वर्षीय शिवम साह कानु (गोल्डेन खान) रहेका छन्। प्रहरीका अनुसार मृतकका बुबा हिन्दु र आमा मुस्लिम हुन्। कानु पेशाले ई–रिक्सा चालक थिए।

घटना मंगलबार राति करिब १२ बजे माईस्थान–गीता मन्दिर जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबीच विवाद हुँदा भएको हो। सो क्रममा कानुलाई बाँसले प्रहार गरिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले प्रारम्भिक अनुसन्धानका आधारमा यो ग्याङ फाइट नभई लक्षित आक्रमण रहेको बताएका छन्।