पर्सा पोस्ट, असोज ०७ गते, बिरगंज । जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट नजिक सशस्त्र प्रहरी बल नं.१३ गण पर्सा र प्र.सि.सु. गुल्म वीरगञ्जबाट खटिएको संयुक्त सुरक्षादलले ठूलो मात्रामा नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
स.प्र.स.नि. सुजय कुमार सिंहको कमाण्डमा ३ जना र स.प्र.स.नि. मो. हमद मुस्ताक अलीको कमाण्डमा ७ जना सुरक्षाकर्मी खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा BR 05 BF 0469 नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त नगद बरामद गरेको हो।
बरामद विवरणअनुसार १००० दरका नोट ५१५ वटा, ५०० दरका नोट ५७२ वटा, १०० दरका नोट ६० वटा गरी जम्मा नगद नेपाली रुपैयाँ ८ लाख ७ हजार बरामद गरिएको छ। साथै प्रयोग गरिएको मोटरसाइकलको अनुमानित मूल्य करिब १ लाख ५० हजार रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेका व्यक्ति पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका–०५ बस्ने करिब ४३ वर्षीय राजेश कुमार साह तेली रहेका छन्। उनले बरामद नगदको वैध स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सुरक्षातन्त्रले जनाएको छ।
यस घटनासँगै सीमा क्षेत्रमा स्रोत नखुलेको नगद तथा अवैध कारोबार रोकथाममा सुरक्षातन्त्र अझ कडाइ हुँदै गएको प्रहरीको दाबी छ।c