पर्सा पोस्ट, भदौ १३ गते, वीरगन्ज । लायन्स क्लब अफ पिंक सिटि वीरगन्जले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । मंगलबार क्लबका अध्यक्ष पिंकि साहको अध्यक्षतामा, फर्स्ट भि.डी.जी. रामबिहारी पाण्डेको प्रमुख आतिथ्य र एरिया चिफ रामेश्वर प्रसाद गुप्ताको विशिष्ट आतिथ्यमा १ बोरा र १० झोला कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा क्लबका सेकेन्ड चेयर पर्सन डा. सुनिल कुमार गुप्ता, समाजसेवी चन्द्रशेखर तिवारी, सचिव नितु गुप्ता, सहसचिव ब्युटी जैसवाल, सदस्यहरु रुपशिला जैसवाल, जुलि बर्णवाल, मुन्नी जैसवाल तथा कपडा बैंककी कर्मचारी शोभा देवीलगायतको सहभागिता थियो ।
सो अवसरमा क्लब अध्यक्ष साहले वीरगन्ज कपडा बैंकले आगलागी, बाढी पीडित तथा असहाय परिवारलाई नियमित रुपमा कपडा वितरण गर्दै आएको निस्वार्थ सेवाभावको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख अतिथि पाण्डेले “तपाईं संग धेरै छ भने हामीलाई दिनुहोस्, छैन भने हामीसँग निःशुल्क लिनुहोस्” भन्ने मुलमन्त्र आत्मसात गरेर कपडा बैंकले गर्दै आएको सेवाको मुक्तकण्ठले प्रशंसा गरे । साथै, मानवतामूलक कार्यमा संलग्न संघसंस्थाले हातेमालो गर्दै समाजमा सकारात्मक योगदान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, कपडा बैंकका अध्यक्ष सिंहले विगतमा पनि लायन्स क्लबले विभिन्न सेवामूलक कार्य गर्दै आएको स्मरण गर्दै यसपटकको सहयोगले अभियानमा थप उर्जा मिलेको भन्दै क्लब परिवारलाई आभार व्यक्त गरे ।
