पर्सा पोस्ट, भदौ ११ गते, बिरगंज । वीरगञ्जस्थित दुई छात्रा स्वरा झा र सारा श्रेष्ठ प्रतिष्ठित अन्तर्राष्ट्रिय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता ‘माइक अप’ को सेमिफाइनल चरणमा प्रतिस्पर्धा गर्न बुधबार थाइल्यान्ड उडेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई प्याब्सन पर्साका जिल्ला कार्यसमिति सदस्य सुशील केसीले ढाका टोपी र नेपालको झण्डा ओढाएर बिदाइ गरेका थिए। बिदाइ समारोहमा उनले, “अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउनु गर्वको कुरा हो, यसले पर्सा जिल्लाको नाम उच्च बनाएको छ,” भन्दै छात्राहरूलाई शुभकामना दिएका थिए।

स्वरासँगै गौतम स्कूलका शिक्षक एल्बिन रेन्जरलाई समेत बिदाइ गरिएको थियो। नेपालमा भएको प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै छात्राले सेमिफाइनलमा स्थान बनाएका हुन्। प्रतियोगिता भदौ ११ गतेदेखि १५ गतेसम्म थाइल्यान्डको बैंककमा हुँदैछ।
प्रतिभाशाली छात्राहरू
* सारा श्रेष्ठ – वीरगञ्ज–३ निवासी, राजबहादुर श्रेष्ठ र सिता थापाकी छोरी। उनी नेशनल इन्फोटेक कलेजमा कक्षा १२ मा अध्ययनरत छिन्। सारा वरिष्ठ (सिनियर) विधामा छनोट भएकी छन्।
* स्वरा झा – वीरगञ्ज–१२ निवासी, रविन्द्र झा र अनामिका झाकी छोरी। उनी गौतम स्कूलमा कक्षा ९ मा अध्ययनरत छिन्। स्वरा कनिष्ठ (जुनियर) विधामा प्रतिस्पर्धी हुन्।

फाईनलको यात्रा
सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूले आगामी चरणमा चीनमा हुने फाइनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।