पर्सा पोस्ट, भदौ ०७ गते, वीरगंज । वीरगंजमा फैलिएको हैजाको प्रकोप रोकथामका लागि महानगरपालिका तिब्र गतिमा काम गरिरहेको छ। अभियानलाई प्रभावकारी बनाउन महानगर प्रमुख राजेशमान सिंह आफैं प्रत्यक्ष निगरानी गर्दै अस्पताल पुगेर बिरामीको अवस्था बुझिरहेका छन्।

शनिबार साँझ सिंह वीरगंज हेल्थकेयर अस्पताल पुगेका थिए, जहाँ १४ भन्दा बढी झाडापखालाका बिरामी उपचाररत छन्। यसअघि दिउँसो उनले नारायणी अस्पतालमा पुगेर ३३ बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। तीमध्ये १३ जनामा हैजा पुष्टि भइसकेको छ।
महानगरले प्रभावित क्षेत्रमा २५ स्वास्थ्य टोली परिचालन गरेको छ। टोलीहरूले घर–घरमै पुगेर पानी शुद्धिकरणका उपाय सिकाइरहेका छन्, क्लोरिन हालेर मात्र पानी पिउन आग्रह गर्दै जनचेतना फैलाइरहेका छन्। साथै प्रभावित बस्तीका नालामा औषधि छर्कने अभियान पनि चलाइरहेको छ।

आवश्यकताअनुसार एम्बुलेन्ससहित सवारीसाधन तत्पर राखिएको छ भने हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरेर नियन्त्रण अभियानलाई व्यवस्थित बनाइएको छ।
शनिबार साँझसम्म वीरगंजका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ३९ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने २ सयभन्दा बढी बिरामी उपचाररत रहेका छन्।
महानगर प्रमुख सिंहले भने, “कुनै पनि अवस्थामा लापरबाही नगरी चनाखो भएर बस्नुपर्ने छ। सबैको सहयोग लिँदै महानगर यो संकटलाई नियन्त्रणमा लिन पूर्ण प्रतिबद्ध छ।”