पर्सा पोस्ट, साउन ३० गते, बिरगंज । काठमाडौंमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ च:मती बस्ने ३५ वर्षीय शिवराज दराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी वृत्त बालाजुको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् । पक्राउ पर्ने दराईको साथबाट एक थान पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
एसपी बोहराका अनुसार शिवराजविरुद्ध यसअघि पनि आपराधिक मुद्दा दायर भएको पाइएको छ । प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ असोज १८ गते अभद्र व्यवहार मुद्दा र २०८० कात्तिक १९ गते लागुऔषध मुद्दा चलाइएको रेकर्डमा देखिएको छ ।
हाल यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।