पर्सा पोस्ट , साउन २९ गते , बिरगंज । श्रीकृष्ण जन्माष्टमी तथा भिमसेन जात्राको अवसरमा वीरगन्ज ४ स्थित बिर्तामाई र कृष्ण मन्दिर परिसरमा व्यापक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। उक्त अभियान वीरगन्ज युवा समाजको आयोजनामा बिर्तामाई मन्दिर संरक्षण समिती र सामुदायिक प्रहरी बिर्ताको सहकार्यमा सम्पन्न गरिएको हो।
वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष एवं बिर्तामाई मन्दिर समितिका अध्यक्ष जगत साह कानु रहेका थिए। कार्यक्रममा वडासदस्य जुलुम खडकी, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, लायन्स क्लबका समाजसेवी उमेश शर्मा, सुनिल श्रेष्ठ, बिर्ता युवा क्लबका अध्यक्ष राज गुप्ता, सामुदायिक प्रहरी बिर्ताका अध्यक्ष माजिद मिया लगायत विभिन्न संघसंस्थाका पदाधिकारी र स्थानीय युवाहरुको सक्रिय सहभागिता रह्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कानुले वीरगन्ज युवा समाजले विगत १३ वर्षदेखि समाजमा विद्यमान कुरिती, विकृति र विसङ्गतिविरुद्ध लड्दै आएको उल्लेख गर्दै आपत–विपतका समयमा अग्रस्थानमा रही सहयोग पुर्याएकोप्रति प्रशंसा गरे।
त्यसैगरी अध्यक्ष थापाले “परिवर्तनका लागि वीरगन्ज युवा समाज” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै चाडपर्वको अवसरमा सरसफाइ, रक्तदान, स्वास्थ्य शिविर, असहाय तथा विपन्नलाई सहयोग, प्रहरी तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले भविष्यमा अझ प्रभावकारी रुपमा सेवा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।