अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्कुल अफ लका विद्यार्थीहरूले बिरगंज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंहलाई छाडा चौपायाको व्यवस्थापनका लागि ज्ञापनपत्र बुझाएका थिए ।
बिरगंजको मुख्य सडक तथा अन्य स्थानमा खुला रूपमा छाडा चौपाया हिँड्दा दुर्घटनाको जोखिम बढेको भन्दै उनीहरूले नगर प्रमुखलाई ध्यानाकर्षण गराएका हुन्।
विद्यार्थीहरूले घण्टाघर, माईस्थान, गहवा, श्रीपुर, पावर हाउस, र नगरका विभिन्न गल्लीहरूमा छाडा चौपायाको चहलपहलले ट्राफिक जाम हुनुका साथै जनावरको आक्रमण र चोटपटक लाग्ने घटनाको संभावना बढेको बताएका छन्। यसले सर्वसाधारणको जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको र दुर्घटनाको जोखिम उच्च बनेको उनीहरूको दाबी छ।
ज्ञापनपत्र ग्रहण गर्दै बिरगंज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंहले समस्याको समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका छन्। साथै, छाडा चौपायाको नियन्त्रण र व्यवस्थापनमा स्थानीय सरकारको भूमिका मुख्य भएकोले छिटो भन्दा छिटो समाधान गर्ने आश्वासन दिएका थिए।
ज्ञापनपत्र बुझाउने टोलीमा कानून स्नातक (BA. LLB) तहमा अध्ययनरत विद्यार्थीहरू नबिन राउत कुर्मी, मुकेश साह तेली, सलाउदिन अन्सारी,अवधेश राम, बिबेक रसीद अंसारी, अमृता शाह, रतिका साह, सिवानी महतो लगायतको सहभागिता रहेको थियो।
विद्यार्थीहरूले छाडा चौपायाको समस्या समाधानका लागि तत्काल ठोस कदम चाल्न माग गर्दै यस विषयमा थप पहल गर्न स्थानीय सरकारलाई अनुरोध गरेका छन, नत्र हामी कानुन पढ्ने विद्यार्थीहरु कानुन उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिएका थिए ।