अजित कुमार भुजेल , बिरगंज । लाइभ इभेन्ट एण्ड म्यानेजमेन्ट बिरगंजको आयोजनामा युथ फेस्ट प्रतियोगिता आजदेखि शुरू भएको छ ।
बिरगंज स्थित बिपिसि कलेजको हलमा सो प्रतियोगिता शुरु भएको हो । सो कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य अनिल रुङ्गटाले रिबन काटेर कार्यक्रमको शुभारम्भ गर्दै प्रतियोगिताको सफलताको कामना गरे । उनले यस कार्यक्रमले विद्यार्थीहरुमा पढाइको अलावा अतिरिक्त क्रियाकलापहरूको विकास पनि हुने भएकोले आयोजक संस्थालाई धन्यबाद दिए ।
प्रमुख अतिथि रुङटाले शिक्षाको विकाससँगै विद्यार्थीहरुमा गायन, नृत्य, बहस जस्ता विषयमा पनि अगाडि बढ्नु अहिलेको आवश्कता रहेको बताए।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले कार्यक्रम सफलताको शुभकामना दिँदै युथ फेस्ट प्रतियोगिताले विधार्थिहरुमा विभिन्न कला र संस्कृतिको विकास हुनेमा आफू विश्वस्त रहेको बताए ।
उनले यस्ता कार्यक्रमहरु निरन्तर रूपमा गरिरहन पनि आग्रह गरे । यसैगरी वरिष्ट पत्रकार राघव साहले पनि विद्यार्थीहरूको प्रतिभाबाट आफू धेरै प्रभावित भएको बताए । आउने दिनमा यी विद्यार्थीहरु ठूला कलाकार बन्ने उनले बताए ।
आजदेखि शुरू भएको यो प्रतियोगिता ३ दिनसम्म चल्ने लाइभ इभेन्ट एण्ड म्यानेजमेन्टका आकाश चौहानले जानकारी दिए । सो प्रतियोगितामा नेशनल इन्फोटेक कलेज, सिद्धार्थ सेकेण्डरी स्कूल, जीवन ज्योति सेकेण्डरी स्कूल, माइस्थान विद्यापीठ विधालय , मुनलाइट स्कूल, श्री शारदा सेकेण्डरी स्कूल, ज्ञान्दा एकेडेमी स्कुल, ब्राइट पब्लिक स्कूल, अल्पाइन सेकेण्डरी स्कूल, सनलाइट सेकेण्डरी स्कूल, एसआर ग्यालेक्सी सेकेण्डरी स्कूल, एमईएस स्कूलगरी १२ वडा विद्यालयहरूको सहभागीता रहेको रहेको छ ।
प्रतियोगिता संस्थाका अध्यक्ष विकास चौहानको अध्यक्षतामा शुरू भएको हो । कार्यक्रममा निर्णायकको भूमिकामा वरिष्ट साहित्यकार धुर्व सिंह ठकुरी र सञ्चारकर्मी राजन रौनियार रहेका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव विजय चौहान, सञ्चारकर्मी राज सरार्फ , आनन्द पटेल, जगत राई, विभिन्न विद्यालयका शिक्षक , शिक्षिका, विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो ।