पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज।
वीरगञ्जमा आयोजित अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘अक्षरारम्भ कप २०८३’ को उपाधि विद्या सदन माध्यमिक विद्यालयले जितेको छ। शनिबार सम्पन्न भव्य फाइनल खेलमा ज्ञानोदय माध्यमिक विद्यालयलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विद्या सदनले प्रतियोगिताको च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।

प्रतियोगिताको दशौँ दिन सम्पन्न २३औँ तथा अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विद्या सदनले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११८ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको ज्ञानोदय माध्यमिक विद्यालयले विद्या सदनका बलरहरूसामु टिक्न नसक्दा १५.३ ओभरमै सबै विकेट गुमाएर मात्र ४७ रन बनाउन सक्यो। यससँगै विद्या सदनले ७१ रनको शानदार जित निकाल्दै अक्षरारम्भ कप २०८३ को उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।

फाइनल खेलमा उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गरेका विद्या सदनका रिजवान अन्सारीले ५६ रन बनाउनुका साथै ३ विकेटसमेत लिएर फाइनल खेलको सर्वश्रेष्ठ खेलाडी घोषित भए।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधाका पुरस्कारबाट सम्मानित गरिएको थियो। विद्या सदनकै अफ्ताब खानले ८० बलमा ८७ रन बनाउँदै सर्वश्रेष्ठ ब्याट्सम्यानको पुरस्कार प्राप्त गरे। त्यस्तै, जीएचपीका कृष्ण यादवले प्रतियोगिताभर ११ विकेट लिँदै सर्वश्रेष्ठ बलरको उपाधि हासिल गरे।

विद्या सदनका रिजवान अन्सारीले प्रतियोगिताभर ८४ रन बनाउनुका साथै ८ विकेटसमेत लिएर प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भए।
त्यसैगरी, ओम नेशनल एकेडेमीका सिद्धान्त यादवले उदीयमान खेलाडी, जीएचपीका अर्पित गिरीले सर्वश्रेष्ठ क्षेत्ररक्षक, ओम नेशनल एकेडेमीका वाहिद खानले सर्वश्रेष्ठ विकेटकिपर तथा विद्या सदनका प्रशिक्षक शम्साद अन्सारीले सर्वश्रेष्ठ प्रशिक्षकको पुरस्कार प्राप्त गरे। प्रतियोगिताभर अनुशासन, खेल भावना र उत्कृष्ट व्यवहार प्रदर्शन गरेको भन्दै ओम नेशनल एकेडेमीलाई अनुशासित टोली घोषित गरिएको थियो।
# सांसद सुशील प्रसाद कानूको प्रमुख आतिथ्यमा पुरस्कार वितरण :
समापन तथा पुरस्कार वितरण समारोह पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील प्रसाद कानूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता प्रतियोगिताका आयोजक तथा सनलाइट माध्यमिक विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले गरेका थिए।

कार्यक्रममा मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरन प्रधान, मिनील्यान्डका लालबाबु पटेल तथा उनका छोरा सुरज बाबु पटेल, लिटिल एन्जल्सका प्रबन्धक मणि पाक्रिन, क्रिकेट अम्पायर डा. बासु कर्ण, ओम नेशनल एकेडेमीका प्रधानाध्यापक हरिश्याम ठाकुर, जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव गुप्ता, पत्रकार जगत राई र मुनेश मगर, युवा समाजका सञ्जीव थापा, फुटबल क्षेत्रका रोशन गुप्ता, समाजसेवी मार्टिन मोक्तान, ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश लिम्बू, उत्तम गुप्ता, रेशेप एजुकेशनका राहुल खेवत तथा वेदान्त पब्लिकेसन्सका मनीष चौधरी लगायत विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षाप्रेमी, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
फाइनल खेलमा डा. हिरालाल राउत र सतीश सिंह राजपूतले अम्पायरको भूमिका निर्वाह गरेका थिए भने अमन हुसेनले स्कोररको जिम्मेवारी सम्हालेका थिए।
समारोहमा विजेता टोली तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको थियो। प्रतियोगिताभर स्वास्थ्य तथा आकस्मिक उपचार सेवामा सहयोग पुर्याएको भन्दै मेडिकल पार्टनर प्रभु अस्पताललाई प्रशंसापत्र प्रदान गरिएको थियो।
# आयोजनामा योगदान पुर्याउने लालबहादुर गुरुङ विशेष सम्मानित :
प्रतियोगिताको सफल आयोजना, व्यवस्थापन तथा सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्याएका लालबहादुर गुरुङलाई विशेष सम्मान गरिएको थियो। प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन पर्दापछाडि रहेर निरन्तर सक्रिय भूमिका निर्वाह गरेको भन्दै प्रमुख अतिथि सांसद सुशील प्रसाद कानू तथा अक्षरारम्भ कपका पदाधिकारीहरूले उनलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए।
यस सम्मानले प्रतियोगिताको सफलतामा प्रत्यक्ष रूपमा देखिने खेलाडी तथा आयोजकसँगै पर्दापछाडि रहेर योगदान पुर्याउने व्यक्तिहरूको भूमिकालाई समेत उजागर गरेको छ।
विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, अनुशासन र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने तथा विद्यालयस्तरमै लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको अक्षरारम्भ कप २०८३ ले वीरगञ्ज तथा आसपासका विद्यालयहरूमा क्रिकेटप्रतिको उत्साह थप बढाएको आयोजकको विश्वास छ।
विद्यालयस्तरबाटै प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्न तथा विद्यार्थीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याएको आयोजक पक्षले जनाएको छ।
आयोजकले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अक्षरारम्भ कप २०८४ आगामी वर्ष दशैँ र दीपावलीको बीचमा आयोजना गरिने जानकारी दिएको छ।
विद्या सदनको शानदार तथा ऐतिहासिक जितसँगै अक्षरारम्भ कप २०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले विद्यालयस्तरीय क्रिकेटको विकास, नयाँ खेल प्रतिभाको पहिचान र खेलकुद संस्कृतिको प्रवर्द्धनमा थप ऊर्जा प्रदान गरेको छ।