पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित श्री छठ पूजा व्यवस्थापन समिति २०२३ (२०८३) ले यस वर्षको छठ महापर्वलाई व्यवस्थित, भव्य र सभ्य रूपमा सम्पन्न गर्न अनुमानित १९ लाख रुपैयाँको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ।
समितिका अध्यक्ष राजु प्रसाद गुप्ताको हस्ताक्षर र छापसहित सार्वजनिक गरिएको विवरणअनुसार छठ पूजा व्यवस्थापनका लागि कुल १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च बराबरकै रकम आम्दानी गर्ने लक्ष्यसमेत समितिले राखेको छ।

सार्वजनिक गरिएको खर्च विवरणअनुसार टेन्ट व्यवस्थापनका लागि सबैभन्दा बढी १० लाख रुपैयाँ छुट्याइएको छ। त्यसैगरी पुरस्कार व्यवस्थापनमा ५ लाख ९९ हजार, विविध खर्चमा १ लाख २५ हजार, मूर्ति निर्माणमा ५० हजार, फ्लेक्स प्रिन्टमा ३५ हजार, ताना व्यवस्थापनमा ३५ हजार, महाआरतीमा ३० हजार, चटाई व्यवस्थापनमा ३० हजार, क्यामेरा व्यवस्थापनमा २५ हजार र माटोका लागि २० हजार रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, आम्दानीतर्फ चन्दा संकलनबाट ११ लाख रुपैयाँ र चिठ्ठा कार्यक्रमबाट ८ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। यसरी आम्दानी र खर्च दुवैको कुल अनुमानित रकम १९ लाख रुपैयाँ रहेको समितिले जनाएको छ।
यस वर्षको छठ पर्वलाई थप आकर्षक र व्यवस्थित बनाउन समितिले महाआरती, चटाई तथा तानाको विशेष व्यवस्था गर्ने जनाएको छ। साथै, पूजा स्थलमा श्रद्धालु तथा व्रतालुहरूको सहजताका लागि अतिरिक्त बत्ती जडान गरिनेछ भने सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउन ५० जना स्वयंसेवक परिचालन गरिने समितिले जानकारी दिएको छ।

समितिले आर्थिक पारदर्शितालाई प्राथमिकता दिँदै छठ पूजा सम्पन्न भएको एक साताभित्र सम्पूर्ण आम्दानी तथा खर्चको वास्तविक हिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी चिठ्ठा कार्यक्रमको नतिजा तीन दिनभित्र पत्रिकामार्फत सार्वजनिक गरिने पनि समितिले जनाएको छ।
छठ महापर्वलाई धार्मिक आस्था, सामाजिक सद्भाव र आपसी एकताको पर्वका रूपमा मनाउँदै आएको मुर्लीमा यस वर्ष पनि श्रद्धालुहरूको सहभागितामा भव्य रूपमा छठ पूजा सम्पन्न गर्ने तयारी गरिएको समितिले जनाएको छ।