पर्सा पोस्ट, चैत १३ गते, वीरगन्ज ।
वीरगन्जको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र गहवा माई मन्दिर परिसरमा ‘महाआरती एवं सांस्कृतिक सन्ध्या २०८२’ भव्य र भक्तिमय वातावरणमा सम्पन्न भएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनसँगै सामाजिक सद्भावको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको आध्यात्मिक समुद्घाटन प्रख्यात ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेको नेतृत्वमा विद्वान ब्राह्मण टोलीद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। सो अवसरमा पण्डित दिनेश तिवारी, विद्याधर झा, शत्रुघ्न वैष्णव तथा विवेकजीले मंगलमय स्वस्तिवाचन र गणपति स्तोत्र वाचन गर्दै वातावरणलाई आध्यात्मिक ऊर्जा प्रदान गरेका थिए। डा. दुबेले महाआरतीको शास्त्रीय तथा ज्योतिषीय महत्वबारे प्रकाश पार्दै यसले नगरमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
समितिका अध्यक्ष श्यामकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाल मुख्य यजमानको रूपमा रहनुभएको थियो भने वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभयो।
समितिका सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता) ले संस्थाको स्थापना र उद्देश्यबारे जानकारी दिँदै सानो संकल्पबाट सुरु भएको अभियान आज विशाल धार्मिक अभियानका रूपमा विकास भएको बताउनुभयो। उहाँका अनुसार समितिले नियमित रूपमा महाभण्डारा, छपन्न भोग, रक्तदान कार्यक्रम तथा निःशुल्क आँखा शिविर जस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यहरू सञ्चालन गर्दै आएको छ।
महाआरती कार्यक्रममा १० दीपशिखासहित विभिन्न यजमानहरूले धर्मपत्नी सहित आरती अर्पण गरेका थिए। सांस्कृतिक प्रस्तुतिअन्तर्गत राम ललाको झाँकी, नारायणी डान्स एकेडेमीको आकर्षक नृत्य तथा महिषासुरमर्दिनी नृत्यले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रमका संयोजक मुकेश प्रसाद साहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, व्यवस्थापन टोली, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा समितिका पदाधिकारी, विभिन्न सामाजिक व्यक्तित्व, व्यवसायी, महिला प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
- यस्तो धार्मिक तथा सांस्कृतिक कार्यक्रमले वीरगन्जलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास लिइएको छ।