पर्सा पोस्ट , पुस ०१ गते , वीरगञ्ज ।
गत बुधवार समाचार सङ्कलनको क्रममा पर्साको जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्र्यवहार गरेको घटनाको विरोधमा आज प्रेस चौतारी नेपाल पर्साको टोलीले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाललाई डेलिगेशन बुझाएको छ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पुगेको सञ्चारकर्मीहरूको टोलीले प्रजिअ दाहाललाई घटनाबारे जानकारी गराउँदै पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई अविलम्ब कारबाही गर्न माग गरेको हो।
फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक एवं प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह गुप्तामाथि गत बुधवार जीराभवानी गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्र, इन्द्रजीत हजरा लगायतले अपशब्द प्रयोग गर्दै मोबाइल फोन खोसी त्यसमा रहेका फोटोहरू डिलिट गरेको आरोप छ।
कार्यालय समयमा गाउँपालिकाका कर्मचारीहरू अनुपस्थित रहेको अवस्थाको फोटो खिच्ने क्रममा पत्रकार गुप्तामाथि कर्मचारी मिश्र र हजरा लगायतले दुव्र्यवहार गरेको जनाइएको छ।
घटनाबारे प्रेस चौतारी नेपाल पर्साको टोलीले छानबिन र दोषीमाथि कारबाहीको माग गरेपछि प्रजिअ दाहालले जीराभवानी गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्र र इन्द्रजीत हजरालाई मौखिक आदेश दिँदै मंगलबार बिहान ११ बजे सिसिटिभी फुटेजसहित जिल्ला प्रशासन कार्यालय, पर्सामा उपस्थित हुन निर्देशन दिएका छन्।
डेलिगेशनमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र, विजय (तुलसी) भण्डारी, किरण सत्याल, नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एसके चौरसिया, शैलेश गुप्ता, लक्ष्मी खरेल, राजन रौनियार, राजन सिंह, दीपेन्द्र बिसी, कन्हैया गुप्ता, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, विजय साहलगायतको सहभागिता रहेको थियो।
# नेपाल पत्रकार महासंघ पर्साद्वारा पनि कारबाहीको माग:
यसैबीच नेपाल पत्रकार महासंघ, पर्सा शाखाले पनि आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ पर्साका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनको क्रममा सञ्चारकर्मीमाथि गरिएको अभद्र व्यवहारको भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरिएको छ। साथै नागरिकको सुसूचित हुने अधिकारको रक्षा तथा सञ्चारकर्मी र समग्र सञ्चार क्षेत्रको सुरक्षाप्रति संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराइएको छ।