पर्सा पोस्ट, मंसिर २७ गते, बिरगंज ।
अवकाश प्राप्त प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धोबिनी गाउँपालिका सभापतिमा सर्वसम्मत रूपमा चयन भएका छन्। आज सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी धोबिनी गाउँपालिकाको प्रथम पालिका भेलाले कुर्मीलाई सभापतिमा चयन गरेको हो। कुर्मी यसअघि पूर्व प्रहरी परिषद पर्सा जिल्लाका अध्यक्षसमेत रहेका छन्।
भेलाले उपसभापतिमा निरज पटेल, सचिवमा उदित नारायण पटेल, कोषाध्यक्षमा वृज लाल पटेल चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा प्रमोद पटेल, नुबिन राम, सन्दिप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश पटेल र प्रियंका देवी पासवान चयन भएका छन्।
रास्वपाका क्षेत्रीय सभापति जितेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न उक्त भेलालाई रास्वपा पर्सा सभापति हरी पन्तलगायतका नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै सभापति पन्तले भदौ २३ र २४ गते ‘जेन्जी’ पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरूविरुद्धको स्पष्ट सन्देश भएको उल्लेख गर्दै अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तनको प्रमुख संवाहकका रूपमा हेर्न थालेको बताए। उनले आसन्न निर्वाचनमा रास्वपाले स्पष्ट रूपमा एकल बहुमत ल्याउने दाबीसमेत गरे।
कृष्णा पासवानले सहजीकरण गरेको भेलामा पार्टीका केन्द्रीय सदस्य नन्दन यादव, प्रमोद रायमाझी, सबु कँडेल, दिलीप कुर्मी, सोनालाल पटेल, परितोश द्विवेदीलगायतका नेताहरूले सम्बोधन गर्दै संगठन विस्तार र जनआधार सुदृढीकरणमा जोड दिएका थिए।