पर्सा पोस्ट, मंसिर २४ गते, बिरगंज ।
बिरगंज महानगरपालिकालाई शहरका विभिन्न बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन्। मंगलबार एक कार्यक्रमकाबीच बैंकहरूले महानगरलाई ९ थान कम्प्युटर हस्तान्तरण गरे।
गएको भदौ २३ र २४ गते ‘जेन्जी’ नामक आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरको भवन तथा कार्यालयका सामग्री पूर्णरूपमा नष्ट भएपछि नगरका दैनिक सेवाप्रवाह प्रभावित बनेको थियो। कार्यालयको नियमित कामकाज सहज बनाउन बैंकहरूको तर्फबाट गरिएको यो सहयोग महत्वपूर्ण मानिएको छ।
वीरगंजमा सञ्चालनमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडले एक–एक थान गरी कुल ९ थान कम्प्युटर प्रदान गरेका हुन्। महानगरका सद्भावना दूत अशोक वैद्यको पहलमा बैंकहरूबाट सहयोग उपलब्ध भएको हो।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले बैंकहरूले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै संकटको घडीमा पुनः सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे। उनले भने, “महानगरको सम्पत्ति नष्ट हुनु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन समयमा सबैको साथ र समर्थनले फेरि उठ्ने हिम्मत र ऊर्जा दिएको छ।”
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकर एशोसिएशन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व भएको बताउँदै आवश्यक उपकरणहरू सहयोगपूर्वक उपलब्ध गराएको जानकारी दिए।
यसअघि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाल लगायत संघ–संस्थाले पनि कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन्।