उपभोक्ता माथि खेलवाड : बिरगंजका बेकरी उद्योगबाट फोहोर र म्याद गुज्रिएको खाद्य सामग्री बरामद

Date:

पर्सा पोस्ट, मंसिर २३ गते, बिरगंज ।
उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा बनेको संयुक्त बजार अनुगमन टोलीले आज बिरगंजका विभिन्न बेकरी तथा पाउरोटी उद्योगमा गरेको अनुगमनका क्रममा गम्भीर अनियमितता र उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष खिलवाड भएका तथ्यहरू फेला पारेको छ।

अनुगमन टोलीले पानीटन्की–८ स्थित शक्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, श्रीपुर–११ रानिघाटस्थित शिला बेकरी उद्योग तथा सोही स्थानको लक्की पाउरोटी उद्योगमा अनुगमन गर्दा उत्पादनस्थलमा आवश्यक सरसफाइ नहुँदा, व्यवसाय दर्ता प्रमाणपत्र प्रांगणमा नदेखाइएका, साथै म्याद गुज्रिएका खाद्य सामग्रीहरू खुलेआम बिक्रीमा राखिएका अवस्थाहरू भेटिएका थिए।

म्याद गुज्रिएका पाउरोटी, पप, डोनट, बम पाउरोटी, सानो केक, बर्फी लगायतका खाद्य सामग्री तत्कालै जफत गरी सामूहिक रूपमा नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्च, नेपालका केन्द्रीय सदस्य अजित कुमार भुजेलले जानकारी दिए।

त्यसैगरी, केही उद्योगले बिरगंज महानगरपालिकाबाट व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको र केहीले दर्ता गरे पनि वर्षौंदेखि नवीकरण नगरेको उजागर भएको छ। अनुगमन टोलीले यस्ता उद्योगलाई ७ दिनभित्र महानगरपालिकामा उपस्थित भई सम्पूर्ण प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च, नेपालका केन्द्रीय सदस्य अजित कुमार भुजेल, पर्सा जिल्ला कोषाध्यक्ष रचेन्द्र सिंह थापा, होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, बिरगंज महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत बिभा मिश्रा र नेहा मिश्रा, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका मधुरेस प्रसाद साह, घरेलु तथा साना उद्योग कार्यालयका सञ्जय महतो, खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालयका श्रवण कुमार साह, बिरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक धिरज कुश्वाह सहितको सहभागिता थियो।

अनुगमन टोलीका सदस्यहरूका अनुसार, “उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने उद्योगलाई अब कडा निगरानी तथा आवश्यक कानूनी कारबाहीबाट उम्कन दिइने छैन।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...