पर्सा पोस्ट,कार्तिक २९ गते , बिरगंज । हरियाली, स्वच्छता तथा सीमाक्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई एउटै उद्देश्यका साथ अघि बढाउँदै बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०, पर्साको संयुक्त सहयोगमा सञ्चालित सफाइ तथा हरित संरक्षण अभियान आज १५औँ दिनमा समेत निरन्तर जारी रह्यो।
आजको कार्यक्रममा बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रमुख अतिथिको रूपमा उपस्थित रहे। साथै भारतीय महावाणिज्य दूतावास बीरगंजका प्रमुख डी.एस. मीणा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठक, सशस्त्र प्रहरीका प्रमुख पुरन चन्द्र भट्ट, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख भोला दाहाल, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले सीमाक्षेत्रमा सुरक्षित, स्वच्छ र हरित वातावरण निर्माणका लागि सबै पक्षहरूको सामूहिक भूमिका आवश्यक रहेको बताए। उनले दीर्घकालीन वातावरणीय सुधारका लागि महानगर निरन्तर रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
त्यसैगरी भारतीय महावाणिज्य दूतावासका प्रमुख डी.एस. मीणाले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध वातावरणीय संरक्षण तथा सीमाक्षेत्रीय व्यवस्थापनमार्फत अझ सुदृढ हुने उल्लेख गरे।
अभियान अन्तर्गत आज पनि सीमाक्षेत्रको सफाइ, सडकछेउका झाडी–झार हटाउने, वृक्षारोपण तथा पुराना हरित क्षेत्रहरूको संरक्षणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरियो। स्थानीयवासीहरूले १५ दिनदेखि निरन्तर चलिरहेको अभियानका कारण वातावरणमा आएको सकारात्मक परिवर्तनप्रति सन्तोष व्यक्त गरेका छन्।
आयोजकहरूका अनुसार अभियानलाई अझ टिकाउ, प्रभावकारी र समुदाय–मुखी बनाउँदै आगामी दिनहरूमा पनि निरन्तरता दिइनेछ।