पर्सा पोस्ट, कार्तिक ०९ गते, वीरगंज। वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले आज महानगर क्षेत्रभित्रका विभिन्न छठघाटहरूको स्थलगत अनुगमन गरेका छन्।
उनले घडिअर्वा पोखरी, रानीघाट, माईधिया पोखरी, श्रीपुर पोखरी, र आदर्शनगरस्थित स्वीमिङ पुल छठघाटलगायतका प्रमुख स्थलहरूमा पुगेर तयारी अवस्थाको अवलोकन गरेका हुन्।
अनुगमनका क्रममा मेयर सिंहले प्रत्येक घाटमा भइरहेको सफा–सफाइ, सुरक्षा व्यवस्था, प्रकाश व्यवस्थापन, आवत–जावतको सहजता, तथा सरोकारवालाको समन्वय सम्बन्धी कार्यहरूको जानकारी लिँदै आवश्यक निर्देशन दिएका थिए।
मेयर सिंहले घाटहरूमा देखिएका कमजोरीहरू तत्काल सुधार गर्न, सुरक्षामा विशेष ध्यान दिन, र सर्वसाधारणले सहज र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने व्यवस्था मिलाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
उनका भनाइमा, “छठ हाम्रो आस्था, संस्कृति र पहिचानको पर्व हो। यस पर्वमा जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइनेछ। कुनै पनि घाटमा समस्या नहोस् भन्ने उद्देश्यले महानगरले सबै तयारी पूरा गरेको छ। जनताको विश्वास र सहजीकरण नै हाम्रो मुख्य जिम्मेवारी हो।”
महानगरका अनुसार सबै छठघाटहरूमा प्रकाश, सरसफाइ, स्वास्थ्य सेवा तथा ट्राफिक व्यवस्थापनका लागि विशेष टिम खटाइएको छ र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।