पर्सा पोस्ट, भदौ १७ गते, बीरगञ्ज । लायन्स क्लब अफ बीरगञ्ज आदर्शनगरको आयोजनामा तथा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर–११ को सहयोगमा मंगलबार विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा डेंगु र हैजाबाट बच्नका लागि ३०० थान मच्छरदानी (झुल) र ६०० थान जीवनजल (ORS) वितरण गरिएको थियो।
प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले हाल डेंगु र हैजाजस्ता महामारीरूपमा फैलिरहेका रोग नियन्त्रण गर्न यस्ता सामाजिक पहलहरू अत्यन्तै प्रभावकारी र लाभदायी हुने बताउनुभयो। उहाँले सामुदायिक सहभागिताबाट मात्रै जनस्वास्थ्य सुरक्षित गर्न सकिनेमा जोड दिनुभयो।
कार्यक्रम लायन्स क्लब अफ बीरगञ्ज आदर्शनगर, डिष्टिक ३२५ का अध्यक्ष सुरेश रुङ्गटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष किशोर गुप्ता, सेक्रेटरी मनिष गोयल, डिस्टिक एजुकेटिभ चिफ प्रकाश बाहेती, प्रदीप डालमिया, विनय बन्सल, राजन सरावगी, रामबिहारी पाण्डे लगायत पदाधिकारीहरूको विशेष उपस्थिति थियो।
त्यसैगरी वडा नं. ११ का वडा अध्यक्ष अजय चौरसिया, दिलिप प्रधानका, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्यामकुमार बस्नेत, सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष रेखा घिमिरे, न्युरो अस्पतालका डा. श्याम बाबु प्रसाद लगायत सरोकारवालाहरू पनि कार्यक्रममा सहभागी भएका थिए।
सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका अध्यक्ष राम सराफ, सहायक हवल्दार सुरेन्द्र कुमार यादव, महिला प्रहरी जवान धनमाया दाहाल, एनुलहक देवानसहित सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका वक्ताहरूले डेंगु र हैजाबाट बच्न व्यक्तिगत सरसफाइ, सफा खानेपानी प्रयोग र मच्छर नियन्त्रणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। साथै, लायन्स क्लब लगायत सामाजिक संस्थाले निरन्तर यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि सरोकारवालाहरूले आग्रह गरेका छन्।