पर्सा पोस्ट, भदौ १६ गते, बिरगंज । बिरगंजमा हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज उपशाखाले वडा नं. १५ का बासिन्दालाई निःशुल्क किट वितरण गरेको छ।
रेडकसले वितरण गरेको किटमा जीवनजल (ORS), साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेट जस्ता सामग्रीहरू रहेका छन्। यस्ता सामग्रीहरूले हैजाको उपचार र रोकथाम दुवैमा मद्दत गर्ने बताइएको छ।
कार्यक्रमका प्रमुख उमेश मिश्रका अनुसार किट वितरणसँगै स्थानीयलाई हैजाबारे सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको छ। स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले सरसफाइमा ध्यान दिनुपर्ने, हात धुने तरिका, पानी उमालेर पिउनुपर्ने र खानपानमा अपनाउनु पर्ने सावधानीबारे प्रायोगिक रूपमा जानकारी दिएका थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका स-कोषाध्यक्ष अभिलाष कुमार गुप्ताले स्वच्छ पानी र सरसफाइ नै हैजा नियन्त्रणको प्रमुख उपाय भएको उल्लेख गर्दै वितरण गरिएका सामग्रीहरूले परिवारलाई प्राथमिक तहमै सुरक्षित राख्न सहयोग गर्ने बताए।
वडा नं. १५ का स्थानीय विकास साहले भने, “हामी यहाँ हैजाको डरले त्रसित थियौं। समयमै रेडक्रसले आवश्यक सामग्री र जानकारी दिएकोले अब केही हदसम्म ढुक्क भएका छौं।”
यसैबीच, स्वास्थ्य कार्यालय पर्साले वीरगञ्जका विभिन्न बस्तीमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै सतर्क रहन आग्रह गरेको छ। चिकित्सकहरूले दूषित पानी सेवन नगर्नु, खुला स्थानमा दिसा नगर्नु र साबुनपानीले नियमित हात धुनु हैजा नियन्त्रणको प्रमुख उपाय भएको औंल्याएका छन्।
कार्यक्रम संयोजक दयाशकर सिंहका अनुसार हैजा प्रभावित वा जोखिमयुक्त वडा नं. १४, १५ र १६ मा समेत यस्ता कार्यक्रम विस्तार हुँदैछ। आजको कार्यक्रममा गुडी कुमारी साहको नेतृत्वमा स्वयंसेवक प्रमोद प्रसाद यादव, अभिलाष गुप्ता, विकास कुमार साह, राजेन्द्र ठाकुर, श्याम महतो, राजु साह लगायतको सक्रिय सहभागिता रहेको थियो।