पर्सा पोस्ट, भदौ १४ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन) र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्जको संयुक्त आयोजनामा शनिबार वीरगञ्ज–१६, बाईपास नयाँ बसपार्क पूर्वपट्टि फुलवारी टोलामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत करिब २५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) जडान गरिएको आयोजकले जानकारी दिएको छ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। त्यस्तै प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की , सशस्त्र प्रहरी प्रमुख एसपी पुरनचन्द्र भट्ट, नेपाल इनोभेट सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूमध्ये हरि प्रसाद भुसाल, सर्फुदिन मियाँ, प्रकाश ऐरी, सुशील कादमियाँ, राकेश अग्रवाल, कैलाश बजाज, त्रिलोक चन्द दरूका, शिव गुप्ता, वसन्त प्रसाद उपाध्याय , सन्चारकर्मि अभिलाष गुप्ता , सुश्मिता यादव , अफताब आलम लगायत सक्रिय देखिएका थिए।
त्यस्तै गरि सो वृक्षारोपण कार्यक्रममा त्रिजुद्व माबिमा अध्ययनरत एसएलसि २०४२ ब्याचका टिमहरुको समेत सहयोग रहेको थियो । सो ब्याचका राजेशमान सिंह , धिरज शर्मा , अजय कुमार कलवार , अम्बिका प्रसाद साह , कृष्ण खनाल , असिम नबि , प्रभा पटेल , ध्रुव साह सोनार , अमिलाल गुप्ताका टिमहरु उपस्थित रहेका थिए ।

सुरक्षाकर्मी तर्फबाट प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी सहायक हवल्दार अजिता घिमीरे र प्रहरी जवान अमर सिंह साउद समेत सहभागी भएका थिए।
कार्यक्रमका वक्ताहरूले वृक्षारोपण अभियानलाई वातावरणीय संरक्षण र आगामी पुस्ताका लागि हरियाली विस्तारको महत्वपूर्ण कदम भएको उल्लेख गर्दै यसको निरन्तर संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। आयोजक संस्थाहरूले नियमित अनुगमनमार्फत रोपिएका बिरुवाको हेरचाह गर्ने प्रतिबद्धता जनाएका छन्।