पर्सा पोस्ट, साउन १ गते, वीरगञ्ज। सानोपाइला संस्थाको आयोजनामा तथा क्वेष्ट फर्माको आर्थिक सहयोगमा वीरगञ्जस्थित बालसुधार गृहमा सात दिने मैनबत्ति सीपमूलक तालिम सम्पन्न भएको छ। तालिम प्रकाश प्रोजेक्टद्वारा सञ्चालन गरिएको हो।
पहिलो चरणमा १५ जना बालबिजयीकर्ता सहभागी बनेका उक्त तालिममा सजावटी मैनबत्ति बनाउन सिकाइयो। सहभागीहरूले विभिन्न ढाँचाका आकर्षक डिजाइन, रंग संयोजन, मोम पगाल्ने प्रविधि लगायतका सीपहरू आर्जन गरेका थिए। तालिमपछि उनीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्तो तालिमले बालबालिकामा आत्मविश्वास जगाउने र जीवनमा अगाडि बढ्न प्रेरणा दिने बताए। उनका अनुसार आगामी दिनमा थप बालबालिकालाई समेत तालिममा सहभागी गराइनेछ।
समापन कार्यक्रममा प्रकाश प्रोजेक्टकी संयोजक शुश्मा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सानोपाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ, प्रशिक्षक विपिन उपाध्याय लगायतको उपस्थिति थियो। प्रशिक्षक उपाध्यायले मैनबत्ति बनाउने सीपहरू व्यावहारिक रूपमा सिकाइएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, क्वेष्ट फर्माका उमेश श्रेष्ठ, राष्ट्रिय समाचार समितिका प्रमुख हिमाल लम्साल, अभिलाष गुप्ता, प्रहलाद चौरसियालगायत पनि कार्यक्रममा सहभागी थिए।

आयोजक संस्था तथा सहकार्यकारी प्रकाश प्रोजेक्टका अनुसार, यस किसिमको तालिमले बालअधिकार, सुधार तथा पुनर्स्थापना अभियानलाई सशक्त बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ। साथै, सहभागी बालबालिकाले उत्पादन गरेका मैनबत्तिहरु बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिइएको छ।
कार्यक्रमको सञ्चालन सानोपाइला संस्थाका विवेक कर्णले गरेका थिए।
