पर्सा पोस्ट , असार ०६ गते , वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विकास निर्माण, सुशासन तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आ–आफ्नो वडामा रहेका आवश्यकता, पूर्वाधार विकास, सडक, सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत जनसरोकारका विषयहरू उठाउँदै समस्याको समाधानका लागि महानगरले थप सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए।
अन्तरक्रियाका क्रममा महानगरभित्र सञ्चालन भइरहेका विकास योजनाहरूलाई गुणस्तरीय र प्रभावकारी बनाउने, जनगुनासोको छिटो सम्बोधन गर्ने तथा सेवा प्रवाहलाई थप सहज, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा विशेष जोड दिइएको थियो।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जनप्रतिनिधिहरूबीचको समन्वय र सहकार्यबाट मात्रै महानगरको समग्र विकास सम्भव हुने बताउँदै जनताको अपेक्षा अनुसार परिणाममुखी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले विकास निर्माणका काममा पारदर्शिता, सुशासन र उत्तरदायित्व कायम गर्दै नागरिकको विश्वास जित्ने गरी महानगर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले वडा तहबाट उठेका समस्या र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गरिने उल्लेख गर्दै महानगरलाई व्यवस्थित, स्वच्छ र विकासोन्मुख शहरका रूपमा स्थापित गर्न सबै जनप्रतिनिधिको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी वडा सदस्य तथा जनप्रतिनिधिहरूले पनि महानगर नेतृत्वसँगको यस्तो अन्तरक्रियाले विकासका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।