पर्सा पोस्ट, असार ०५ गते, रक्सौल, पूर्वी चम्पारण ।
लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, सामाजिक कार्यकर्ता तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल सर्राफले सकारात्मक सोच, विश्वास र सहकार्यले मात्र जीवनलाई सफल र सुखद बनाउन सकिने बताएका छन्। प्रेससँग कुरा गर्दै उनले जीवनका विभिन्न पक्षबारे प्रेरणादायी विचार व्यक्त गरेका हुन्।
उनले जीवनलाई बैंकसँग तुलना गर्दै भने, “जब जीवनको बैंकमा प्रेमको सन्तुलन घट्न थाल्छ, तब खुशीका चेकहरू अस्वीकार हुन थाल्छन्।” उनका अनुसार मानिसको वास्तविक सम्पत्ति धन वा शक्ति नभई असल विचार र सकारात्मक सोच हो। पैसा र शक्तिले मानिसलाई बहकाउन सक्ने भए पनि असल विचारले सधैं सही मार्गतर्फ प्रेरित गर्ने उनको भनाइ थियो।
सर्राफले परिवर्तनलाई जीवनको स्वाभाविक प्रक्रिया भन्दै परिवर्तनसँग डराउन नहुने बताए। “जब पातहरूको रंग परिवर्तन हुन्छ, तब ती भुइँमा झर्छन्। त्यसैले परिवर्तन हुनेहरूप्रति दुःखी हुनु आवश्यक छैन,” उनले भने।
उनले संघर्ष र प्रयासको महत्वबारे चर्चा गर्दै प्रयासबिना सफलता सम्भव नहुने बताए। “प्रयास बिना मानिस केवल तल खस्न सक्छ, माथि उठ्न सक्दैन। यो जीवन र गुरुत्वाकर्षण दुवैको नियम हो,” उनले उल्लेख गरे।
आफ्नो कमजोरी चिन्न सक्नु नै सबैभन्दा ठूलो दृष्टि भएको बताउँदै उनले विगतलाई सम्झेर भविष्यका लागि सही मार्ग तय गर्नुपर्ने धारणा राखे। विश्वासलाई जीवनको अगाडि बढाउने शक्ति भन्दै उनले विश्वासको ज्योति कहिल्यै निभ्न नदिन आग्रह गरे।
समाज, परिवार र व्यवसायमा सहकार्यको भावना आवश्यक रहेको उल्लेख गर्दै उनले एकअर्कालाई सहयोग गरिरहेसम्म कसैको पतन नहुने विश्वास व्यक्त गरे। “को सही वा गलत भन्नेमा केन्द्रित हुनु भन्दा आफ्नै प्रगतिमा ध्यान दिनु राम्रो हुन्छ,” उनले भने।
अन्त्यमा उनले मानिसको वास्तविक सुन्दरता उसको विचार र व्यवहारमा निर्भर रहने धारणा व्यक्त गर्दै सकारात्मक सोच, नम्र व्यवहार र सहयोगी भावनाले समाजलाई अझ सभ्य र समृद्ध बनाउन सकिने बताए।