पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल वीरगञ्ज महानगर समितिले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुँदै आएको अव्यवस्थित मासु तथा माछा बजार व्यवस्थापन गर्न पटक–पटक आग्रह गर्दा समेत कार्यान्वयन नभएको भन्दै अदालतको आदेश अवज्ञा गरिएको आरोप लगाएको छ। मञ्चले अब अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको जनाएको छ।

मञ्चका अनुसार नगरवासीलाई स्वच्छ, गुणस्तरीय तथा स्वास्थ्य मापदण्डअनुसारको माछा र मासु उपलब्ध गराउने तथा शहरको वातावरण स्वच्छ राख्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकालाई २०७५/०६/२२, २०७५/१२/०१ र २०७६/०४/०६ मा लिखित निवेदन दिइएको थियो। त्यसपछि विभिन्न समयमा बजार अनुगमन गर्दै सम्बन्धित निकायलाई मौखिक तथा लिखित रूपमा ध्यानाकर्षणसमेत गराइएको थियो।

अनुगमनका क्रममा खुला रूपमा मासुजन्य वस्तुको बिक्री वितरण भइरहेको, मूल्यसूची नराखिएको, अस्वस्थकर वातावरणमा पशु बध भइरहेको तथा त्यसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल वीरगञ्ज महानगर समितिका तत्कालीन अध्यक्ष अजित कुमार भुजेलले २०७६ साल भदौ महिनामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा रिट दायर गर्नु भएको थियो।

उक्त रिटमाथि सुनुवाइ गर्दै माननीय न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले २०७६/१२/०३ गते वीरगञ्ज महानगरपालिकाको नाममा परमादेश जारी गरेको थियो। अदालतले सार्वजनिक स्थल, बाटोघाटो तथा खुला क्षेत्रमा पशु बध गर्न नदिन, खुला रूपमा मासु बिक्री वितरण रोक्न तथा व्यवस्थित बधस्थलको व्यवस्था गर्न निर्देशन दिएको थियो।

तर फैसला भएको ६ वर्ष पूरा हुँदासमेत महानगरपालिकाले आदेश कार्यान्वयनतर्फ ठोस पहल नगरेको मञ्चको आरोप छ। अहिले पनि शहरका विभिन्न स्थानमा खुला रूपमा मासु काट्ने, बिक्री गर्ने तथा फोहोर व्यवस्थापन नगर्ने प्रवृत्ति कायम रहेको भन्दै स्थानीयवासीले समेत गुनासो गर्दै आएका छन्।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित कुमार भुजेलले अदालतको आदेश कार्यान्वयन नभएको अवस्थामा अब कानुनी रूपमा अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताउँदै अदालतको आदेशको सम्मान र कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो।

स्थानीय उपभोक्ताहरूले पनि व्यवस्थित मासु बजार, आधुनिक बधशाला तथा नियमित अनुगमनको माग गर्दै आएका छन्। सरोकारवालाहरूका अनुसार अव्यवस्थित रूपमा सञ्चालन हुने मासु बजारका कारण वातावरण प्रदूषण, दुर्गन्ध तथा विभिन्न संक्रामक रोग फैलिने जोखिमसमेत बढ्दै गएको छ।