पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज ।
प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले वीरगञ्जको आदर्शनगरमा नयाँ ‘एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ। नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा बिहीबारदेखि उक्त केन्द्र औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

नयाँ शोरूमको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले गरेका थिए। कार्यक्रममा संघका पूर्व अध्यक्षहरू गणेश लाठ, अनिल कुमार अग्रवाल, आनन्द अग्रवाललगायत स्थानीय उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएसँगै एथर नेपालको देशव्यापी ‘एक्सपिरियन्स सेन्टर’को संख्या १२ पुगेको कम्पनीले जनाएको छ। मधेश प्रदेशका ग्राहकलाई लक्षित गरी स्थापना गरिएको उक्त केन्द्रमा प्रदर्शनमुखी ‘एथर ४५० सिरिज’ तथा पारिवारिक प्रयोगका लागि उपयुक्त ‘एथर रिज्टा’ मोडल उपलब्ध गराइएको छ।

कम्पनीका अनुसार एथरका स्कुटरहरूमा गुगल म्यापमा आधारित स्मार्ट नेभिगेसन, अटो होल्ड, फल सेफ, रिभर्स मोड, ट्र्याक्सन कन्ट्रोल तथा ड्यासबोर्डमा ह्वाट्सएप नोटिफिकेसन जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ। साथै ग्राहकलाई ८ वर्षसम्मको ब्याट्री वारेन्टी प्रदान गरिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
शोरूम उद्घाटनको अवसरमा कम्पनीले आगामी असार १२ गतेसम्म लागू हुने विशेष योजना समेत सार्वजनिक गरेको छ। उक्त अफरअन्तर्गत ग्राहकहरूले विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा तथा पुरानो सवारी एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन लाभ प्राप्त गर्न सक्नेछन्।

बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै कम्पनीले वीरगञ्ज क्षेत्रमा समर्पित सेवा सहायता उपलब्ध गराउने जनाएको छ। हाल देशभर १० वटा अधिकृत सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् भने प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्टहरू स्थापना गरिएको कम्पनीको भनाइ छ।
गेटवे मोटर्स प्रालिका अध्यक्ष अनुप अग्रवालका अनुसार एक्सपिरियन्स सेन्टर औपचारिक रूपमा सञ्चालनमा आउनुअघि नै २० वटा स्कुटरको अग्रिम बुकिङ भइसकेको थियो। उद्घाटनकै दिन एक वटा स्कुटर बिक्री हुनु वीरगञ्जमा विद्युतीय दुईपाङ्ग्रे सवारीप्रतिको बढ्दो आकर्षणको संकेत भएको उनले बताए।

हाल एथरका स्कुटरहरू पाँच फरक भेरियन्ट तथा विभिन्न आकर्षक रङमा उपलब्ध रहेका छन्। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आधुनिक प्रविधिप्रतिको आकर्षणका कारण पछिल्लो समय विद्युतीय सवारी साधनप्रति उपभोक्ताको रुचि तीव्र रूपमा बढिरहेको छ। यस्तो अवस्थामा एथरका स्मार्ट तथा किफायती स्कुटरहरू नेपाली बजारमा भरपर्दो विकल्प बन्ने कम्पनीको दाबी रहेको छ।