पर्सा पोस्ट, जेठ १७ गते, वीरगञ्ज ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा बढ्दो प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलले शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न प्रजातिका करिब एक हजार बिरुवा रोपिएको अस्पताल प्रशासनले जनाएको छ।
वीरगञ्जको खुला क्षेत्रमा आयोजित वृक्षारोपण कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबुको नेतृत्वमा अस्पतालका चिकित्सक, कर्मचारी, समाजसेवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै डा. श्याम बाबुले वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न वृक्षारोपण अपरिहार्य रहेको बताए। उनले पछिल्ला वर्षहरूमा बढ्दो वायु प्रदूषण, वन विनाश तथा तापक्रम वृद्धिका कारण वातावरणीय चुनौती गम्भीर बन्दै गएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
“एक व्यक्तिले कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्न सके वातावरण संरक्षणमा ठूलो योगदान पुग्न सक्छ,” उनले भने, “हस्पिटलले स्वास्थ्य सेवासँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
वृक्षारोपण कार्यक्रममा फलफूल, छायाँ तथा वातावरणमैत्री विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्न प्रतिबद्धता समेत जनाएका थिए।
स्थानीयवासीहरूले वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलको पहलको प्रशंसा गर्दै यस्ता अभियानले वातावरण संरक्षणका साथै नागरिकहरूमा हरियालीप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
वातावरणीय चुनौती दिनप्रतिदिन बढिरहेका बेला निजी क्षेत्रबाट सञ्चालन गरिएका यस्ता हरित अभियानहरूले स्वच्छ, हराभरा र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।