पर्सा पोस्ट, जेठ १६ गते, जनकपुर ।
महोत्तरीको बर्दिबासमा रहेका होटल तथा पर्यटन व्यवसायीहरूले पछिल्लो समय केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत तथ्यहीन र अतिरञ्जित ढंगले समाचार सम्प्रेषण गरी पर्यटन व्यवसायीको मनोबल कमजोर पार्ने प्रयास भइरहेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
व्यवसायीहरूले जेठ ११ गते वन कर्मचारीबाट भएको भनिएको अमर्यादित तथा अवैध व्यवहारका कारण सिर्जित परिस्थितिप्रति सम्बन्धित राज्य निकायले आफ्नो कमजोरी स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागिसकेको अवस्थामा समेत व्यवसायीहरूलाई दोषी देखाउने गरी विभिन्न आरोप र टिप्पणीहरू सार्वजनिक गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
बर्दिबासस्थित होटल गौतममा आयोजित छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा प्रदेश सदस्य त्रिलोकी यादवसँग पर्यटन व्यवसायीहरूले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीसहित प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
छलफलका क्रममा व्यवसायीहरूले पर्यटन क्षेत्र प्रदेशको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले अपुष्ट सूचना र एकपक्षीय समाचारले व्यवसायमाथि नकारात्मक असर पर्ने बताएका थिए। उनीहरूले कुनै पनि घटनाको समाचार सम्प्रेषण गर्दा सम्बन्धित पक्षको धारणा समेटेर तथ्य र प्रमाणका आधारमा निष्पक्ष पत्रकारिता गर्न सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।
यसैबीच, कालापानी आन्दोलनपछिको घटनाक्रमबारे विस्तृत छलफलपछि होटल तथा पर्यटन व्यवसायी संघले प्रेस विज्ञप्तिमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। संघका महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बर्दिबासस्थित पानस होटल र भण्डारी होटलका सञ्चालकलाई लक्षित गरी केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा ती समाचारहरूले घटनाको वास्तविक पक्षलाई ओझेलमा पार्ने, पर्यटन व्यवसायीहरूको प्रतिष्ठामाथि आघात पुर्याउने तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास गरेको आरोप लगाइएको छ। संघले कुनै पनि विषयमा निष्कर्षमा पुग्नुअघि सत्यतथ्यको खोजी गरी जिम्मेवार र मर्यादित पत्रकारिताको अभ्यास गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
पर्यटन व्यवसायीहरूले बर्दिबासलाई प्रदेशकै महत्वपूर्ण पर्यटकीय तथा आतिथ्य केन्द्रका रूपमा विकास गर्ने अभियानमा सबै सरोकारवालाको सकारात्मक सहयोग आवश्यक रहेको उल्लेख गर्दै तथ्यमा आधारित सूचना प्रवाहबाट मात्रै पर्यटन क्षेत्रप्रति जनविश्वास कायम रहने बताएका छन्।